वीरगन्ज – बाराका प्रहरी भान्से राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धानलाई ‘न्यारो डाउन’ गर्दै लगेको जनाएको छ। घटनामा संलग्न भएको आशंकामा तीन जना पक्राउ परेसँगै प्रहरी अनुसन्धान थप नजिकिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले बताएका छन्।
प्रहरीको विशेष टोलीले पक्राउ परेका तीनै जनासँग सोधपुछ गर्दा प्राप्त विवरण तथा घटनासँग सम्बन्धित प्रमाणहरूको आधारमा अनुसन्धान अघि बढाएको छ। प्रमुख खडकाका अनुसार, प्रहरीले विशेष मेहनतका साथ हत्याका दोषीलाई एक साताभित्र लगभग पहिचान गर्न सफल भएको छ।
व्यक्तिगत रिसिइबी र आर्थिक लाभका कारण हत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या व्यक्तिगत रिसिइबी र आर्थिक लाभका कारण भएको देखाएको छ। बारा प्रहरी प्रमुख खडकाले भने, “सोधपुछ र बयान लिने काम अझै जारी छ। वास्तविक कारण र घटनाको पूर्ण विवरण भोलि सार्वजनिक गर्ने तयारी गरेका छौँ।”
बाराका प्रहरीका अनुसार, राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूमाथि जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान भइरहेको छ।
अन्य दुईजना मुख्य संलग्नहरू पनि बारा जिल्लाकै इनर्वा सिराका भएको प्रहरीको भनाइ छ। यद्यपि, तिनीहरूको नाम र पहिचान गोप्य राखिएको छ।
शनिबार जितपुर सिमरा उपमहानगरपालिका–११ स्थित सडकखण्डमा रुम्बाको शव कारभित्र फेला परेको थियो। बागमती प्रदेशको ०१–०२८–च–७६१६ नम्बरको गाडी लिएर कलैया जान निस्किएका रुम्बा भोलिपल्ट मृत अवस्थामा भेटिएका थिए।
रुम्बा इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रहरी भान्से थिए। हाल उनी सिमरा एयरपोर्टमा काजमा खटिएका थिए।
प्रहरीले घटनामा संलग्न दोषीलाई छिट्टै कानूनी कारबाहीको दायरामा ल्याउन प्रतिबद्धता जनाएको छ। घटनाको अनुसन्धान तीव्र गतिमा अघि बढाइएको र घटनाको सबै पक्ष छिट्टै सार्वजनिक गरिने बताइएको छ।