सरकारले यो वर्ष रासायनिक मल आयात तीव्र पारेको छ । अघिल्ला वर्ष रासायानिक मल नआउँदा समस्या परेपछि गत आर्थिक वर्षदेखि नै सरकारले मल आयातमा तीव्रता दिँदै आएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आव २०८१/८२ मा ५० लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखिएको छ । नेपालले चालु आवको पहिलो पाँच महिना (साउनदेखि मंसिरसम्म) २ लाख टनभन्दा बढी मल आयात गरेको छ ।
चालु आव सुरु भएपछि कृषि सामग्री केन्द्र लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले गरी २ लाख ९ हजार ९ सय १ टन मल आयात गरेका हुन् ।
मंसिर मसान्तसम्म कृषि सामग्रीले १ लाख ८१ हजार १ सय ५५ टन र साल्ट ट्रेडिङले २८ हजार ७ सय ४५ टन आयात गरिसकेका छन् । यो सरकारको वार्षिक लक्ष्यको ३८ प्रतिशत हो ।
