आज:  | Sat, 08, Feb, 2025

प्रहरी प्रमुख वसन्तबहादुर कुँवर मानव अधिकार आयोगमा उपस्थित भएनन्

Avatar photo दिशा निर्देश २४ मंसिर २०८१, सोमबार १७:०५ मा प्रकाशित (२ महिना अघि)
Share

काठमाडौ २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई बयानका लागि बोलाएको थियो। तर, प्रहरी प्रमुख कुँवर सोमबार आयोगमा उपस्थित भएनन्।

आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार, रवि लामिछानेमाथि हिरासतमै मानव अधिकार उल्लंघन भएको आरोपका कारण कुँवरलाई बोलाइएको थियो। तर, प्रहरी प्रमुख कुँवरले स्वयं उपस्थित हुन नसकेपछि उनले अपराध अनुसन्धान विभागका एआईजी टेकप्रसाद तामाङ, सचिवालयका डीआईजी दानबहादुर कार्की, र प्रहरी मानव अधिकार शाखाका एसपी मोहनकुमार थापालाई आफ्नो प्रतिनिधिका रूपमा आयोगमा पठाएका थिए।

सोधपुछका क्रममा आयोगका सदस्य मनोज दुवाडीले प्रहरीसँग कानूनी शासनको प्रत्याभूति, स्वच्छ पुर्पक्षको अधिकार, र बन्दीका आधारभूत मानव अधिकारको सम्मानका साथै निष्पक्ष र स्वतन्त्र अनुसन्धान सुनिश्चित गर्न निर्देशन दिएका थिए।

कुँवर आयोगमा अनुपस्थित भएपछि आयोगले यस विषयमा थप जानकारी लिन र सोधपुछ गर्न प्रहरी प्रमुखसँग अर्को अवसरमा छलफल गर्ने योजना बनाएको प्रवक्ता पोखरेलले जानकारी दिए। आयोगले प्रहरी प्रमुखको अनुपस्थितिलाई गम्भीर रूपमा लिएको र घटनाको निष्पक्ष छानबिनका लागि दबाब बढाएको छ।

रवि लामिछानेकी पत्नी निकिता पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा उजुरी दर्ता गराएका छन्। उजुरीमा आईजी कुँवरको आदेशमा चितवन प्रहरीले कार्य गरेको आरोप लगाइएको छ। उजुरीअनुसार, रविलाई चितवनको हिरासतबाट मध्यरातमा पोखरा स्थानान्तरण गरिएको थियो।

 


सम्बन्धित खबरहरु