पर्सा,१२ मंसिर : नेपाल विद्यार्थी संघ, पर्सा जिल्ला कार्यसमितिले बहुदरमाई नगरपालिकामा सामुदायिक विद्यालयहरू बन्द भइरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै जिल्ला प्रशासन कार्यालय, पर्सामा सहायक जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। संघले नगरपालिकाभित्र शिक्षाको ज्योति फैलाउनुपर्ने शैक्षिक संस्थाहरू विगत लामो समयदेखि त्रिपक्षीय निजी स्वार्थका कारण अस्तव्यस्त रहेकोमा चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा संघले बहुदरमाई नगरपालिकाको गतिविधि र विद्यालयहरूको संचालनमा देखा परेको समस्या शिक्षाको क्षेत्रमा “कालो धब्बा” रहेको उल्लेख गरेको छ। संघका अनुसार, शिक्षकहरूको तलब नपाउनु र दैनिक खर्चको अभावका कारण गत आइतबार (२०८१ भदौ ९ गते) देखि विद्यालयहरू पूर्ण रूपमा बन्द भएका छन्। यसले विद्यार्थीहरूको पठनपाठनमा गम्भीर असर पारेको छ।
नेपाल विद्यार्थी संघले नगरपालिकाका मेयर, वडाध्यक्ष र कर्मचारीहरूलाई त्रिपक्षीय निजी स्वार्थमा लिप्त भई शिक्षामा अवरोध पुर्याएको आरोप लगाएको छ। संघले यस्तो कार्यप्रति कडा विरोध गर्दै भनेको छ, “शिक्षा क्षेत्रमा निजी स्वार्थका कारण गरिएको यस्तो अवरोध र दम्भिय कार्यलाई सह्य गर्न सकिँदैन।”
संघले विद्यालयहरूको तत्काल पुनःसञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नगरपालिकाको आपसी स्वार्थपूर्ण द्वन्द्वका कारण बन्द रहेका विद्यालयहरू अविलम्ब सञ्चालन गरिनुपर्छ। अन्यथा, नेपाल विद्यार्थी संघ जनकारवाहीको बाटो अपनाउन बाध्य हुनेछ।”
संघले थप चेतावनी दिँदै विद्यालयहरू बन्द रहिरहे र समस्याको समाधान नभए उत्पन्न हुने सम्पूर्ण घटनाको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने स्पष्ट पारेको छ।
शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको भविष्यको सुरक्षा सुनिश्चित गर्न नेपाल विद्यार्थी संघले स्थानीय प्रशासन, सरोकारवाला निकायहरू, र सम्पूर्ण पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरेको छ।