आज:  | Sat, 08, Feb, 2025

पर्सा जिल्लामै सर्वोत्कृष्ट छात्रालाई नगदसहित सम्मान

Avatar photo दिशा निर्देश ७ मंसिर २०८१, शुक्रबार १७:५५ मा प्रकाशित (२ महिना अघि)
Share

वीरगन्ज, ७ मंसिर: पर्सा जिल्लाको गौतम माध्यमिक विद्यालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्रा रिया साहलाई विशेष सम्मान गरेको छ। साहले ३.९७ जिपिए हासिल गरी पर्सा जिल्लामै सबैभन्दा उत्कृष्ट नतिजा ल्याएकी थिइन्। एसईई परीक्षा उनले गौतम माध्यमिक विद्यालयबाट नै दिएकी थिइन्।

विद्यालयले शुक्रबार आयोजना गरेको सम्मान कार्यक्रममा छात्रा साहलाई नगद २५ हजार रुपैयाँ र कदरपत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले उनलाई विद्यालयका तर्फबाट सम्मान गरे।

कार्यक्रममा छात्रा साहका अभिभावकलाई पनि “वर्ष २०८० का उत्कृष्ट अभिभावक” को रुपमा खादा ओढाएर सम्मान गरियो।

गौतम माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापिका परीक्षा पिया लामाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्साका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसिया, उपाध्यक्ष शिव गुप्ता, हिसानका केन्द्रीय सदस्य मनिष सिंह, र फोनिजका मधेस प्रदेश इञ्चार्ज निरज पिठाकोटे मगरलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

विद्यालयका सहायक प्रधानाध्यापिका लामाले कार्यक्रममा विद्यालयले सधैं शैक्षिक गुणस्तरमा अग्रस्थानमा रहँदै उत्कृष्ट नतिजा दिने विद्यार्थीलाई प्रोत्साहन गर्दै आएको बताइन्। उनले विद्यार्थीलाई यस्ता सम्मानले आगामी दिनमा थप प्रेरित गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथी कर्णले छात्रा साहको मेहनत, लगनशीलता र विद्यालयको शैक्षिक वातावरणलाई प्रशंसा गर्दै यस्ता कार्यक्रमले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

 


सम्बन्धित खबरहरु