नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ ।
केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभ/हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।
विसं २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरणअनुसार यस बैंकको सम्पत्ति तथा दायित्व २०८० असार मसान्तको तुलनामा ३० दशमलव १५ प्रतिशतले वृद्वि भई रु २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार कायम भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा रु १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र रु. ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको केन्द्रीय बैंकले जनाएको छ । सो आव मा रु ७३ अर्ब ९९ करोड ९० लाख बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोट चलनचल्तीका लागि निष्काशन गरिएका थिए । बैंकका अनुसार, २०८१ असार मसान्तसम्ममा कूल रु छ खर्ब ९० अर्ब १५ करोड बराबरका विभिन्न दरका नोटहरू चलन चल्तीमा छन् ।
