यो वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा मधेशका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको कारोबार भएको छ। गत वर्षको यही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो।
योपरिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा, हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो। भण्डारीका अनुसार यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको थियो।
विगतमा भारतको पटना तथा कलकताबाट फूल तथो माला आयात हुने गर्थ्यो। यो वर्ष सरकारले आयातमा कडाइ गरेपछि आन्तरिक उत्पादनका फूलमाला बिक्री भएको उनको भनाइ छ।
जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन्। करिब २०० किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ। धनुषामा करिब ५० बिघा क्षेत्रफलमा गोदावरी फूलको व्यावसायिक खेती हुन्छ। देपुरा, रुपैठा, फूलगामा, परवाहा, ढल्केबर लगायतका ग्रामीण व्यावसायिक फूल खेती हुने गरेको छ।
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसान बताउँछन्। रासस
