आज:  | Thu, 10, Jul, 2025

रिकभरीङ् नेपालको पहल: लागुऔषध दुव्र्यसनमा सुधार र पुनर्स्थापनामा जोड

Avatar photo दिशा निर्देश १३ कार्तिक २०८१, मंगलवार ०८:५१ मा प्रकाशित (८ महिना अघि)
Share

वीरगञ्ज । लागुऔषध दुव्र्यसनीलाई अपराधको नजरले नभई बिरामीको रूपमा हेरिनु पर्नेमा रिकभरीङ् नेपाल मधेश प्रदेशका संयोजक मन्टु गिरीले जोड दिएका छन्। वीरगञ्जस्थित म्याजिक बेल्समा सोमवार आयोजित प्रादेशिक मिडिया संवेदनशीलता कार्यक्रममा सम्बोधन गर्दै गिरीले समाजले लागुऔषध प्रयोगकर्ताप्रति दृष्टिकोण बदल्न आवश्यक रहेको औँल्याए। उनले समाजमा चोरी वा अन्य घटनामा लागुऔषध प्रयोगकर्तालाई सजिलै शंका गर्ने प्रवृत्तिको आलोचना गरे।

गिरीका अनुसार, समाजले कुलतमा फसेका युवालाई लाञ्छना र विभेदको दृष्टिकोणले हेर्दा उनीहरूको मनोबल कमजोर बन्दै गएको छ। कार्यक्रममा गिरीले रिकभरीङ् नेपालद्वारा प्राप्त प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले पूर्व लागुऔषध प्रयोगकर्ताहरूको समूहको रूपमा, एचआईभी, उपचार, र औषधीसम्म पहुँच सुनिश्चित गर्न काम गरिरहेको जानकारी दिए। सन् २००३ मा स्थापित रिकभरीङ् नेपालले सातै प्रदेशमा संगठन विस्तार गरी लागुऔषध दुव्र्यसनी न्यूनीकरण, पैरवी, नीति निर्माणमा सहयोग गर्दै आइरहेको छ।

गत वर्षमा मात्र संस्थाले २६७ संस्थालाई मनोसामाजिक परामर्श तालिम प्रदान गरेको छ भने १५७ लागुऔषध प्रयोगकर्तालाई व्यवसायिक तालिम र २६ जनालाई प्रारम्भिक पूँजी उपलब्ध गराई व्यवसाय संचालनमा सहयोग गरेको छ, कोषाध्यक्ष राजकुमार तामाङले जानकारी दिए।

वीरगञ्ज भारतसँग खुला सिमाना भएको हुँदा यहाँ लागुऔषधको जोखिम उच्च रहेको र यसको रोकथाममा सरोकारवालाहरूले थप सक्रियता देखाउनुपर्ने केन्द्रिय सदस्य सुवोध पौडेलले बताए। कार्यक्रममा नीता फाउण्डेशनका भुषण क्षेत्री, मनिला फाउण्डेशनका धिरज शर्मा लगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित खबरहरु