वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालले विभिन्न पदमा ३० जनाको लागि दरखास्त आह्वान गरेको छ । नारायणी अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन हुने बित्तिकै पुराना कर्मचारी हटाउने र नयाँका लागि दरखास्त आह्वान गर्ने प्रचलन नै भइसकेको छ ।
असोज ११ गते कार्यालयमा हाजिरी भएका नयाँ मेसु डा. चुमनलाल दासले एक महिनापछि कार्तिक ११ गते नयाँ कर्मचारीको माग गर्दै सूचना निकालेका हुन् । त्यसअघि कार्तिक ६ गते अस्पतालका विभागिय प्रमुख, शाखा प्रमुख, वार्ड इन्चार्ज लगायतलाई निर्देशन दिँदै केही कर्मचारीलाई काममा नखटाउन मेसु डा. दासले पत्र काटेका थिए ।
अस्पताल विकास समिती तथा नेपाल सरकारबाट स्वीकृत दरबन्दी बाहेकको पदको लागि तलब भत्ता शीर्षकमा बजेट नभएको कारण दरबन्दी बेगरको कर्मचारीलाई तलब भत्ता भुक्तानीदिन नसकिने भएकोले कामकाजमा लगाउन नसकिने उक्त पत्रमा उल्लेख छ ।
करारमा कार्यरत कर्मचारीहरुको पदमा स्थायी पदपूर्ती भएका र बिना कुनै निर्णय र पत्र नदिइएका कर्मचारीलाई काममा नखटाउन मेसु डा. दासले पत्र काटेका थिए ।
एकातिर कार्यरत कर्मचारीलाई तलब भत्ता भुक्तानी गर्न नसकिने बताउनु र अर्काेतर्फ ३० जना कर्मचारी माग गर्नुले डा. दासको नियतमाथि शंका उत्पन्न गरेको छ । उनले कमिसन लिएर कर्मचारी नियुक्त गर्ने र आफ्ना मान्छेलाई जागिर दिने उद्देश्यले यसअघिका कर्मचारीलाई हटाएर नयाँ भर्न गर्न लागेको उनको रबैयाले स्पष्ट हुन्छ ।
यो नारायणी अस्पतालको पहिलो विज्ञापन भने हैन, यो भन्दा अघि नै दुई÷दुई पटक अस्पतालले विज्ञापन निकालेको थियो । विज्ञापनमा दरखास्त दिएका आवेदकहरुको आवेदन शूल्क समेत फिर्ता नगरी दुवै पटक विज्ञापन रद्द गरिएको थियो । विगतको यो प्रबृतिले अहिले पनि फेरी रद्द हुने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।
कार्तिक ११ गते नागरिक दैनिकमा प्रकाशित भएको सूचनाअनुसार विभिन्न पदमा ३० जना कर्मचारी माग गरिएको हो । सहायक चौथो अ.न.मी. दुई जना, हेल्थ असिस्टेन्ट एक जना, मर्मत सम्भार टेक्निसियन एक जना, नर्सिङ् अधिकृत दुई जना, स्टाफ नर्स नौ जना, मेडिकल रेकर्ड अधिकृत, फार्मेशी अधिकृत, क.इ.एन.टि.सर्जन, क.साइक्याट्रिस्ट, क.कार्डियोलोजिक्ष्ट, क.चेष्ट फिजिशियन, क.जनरल फिजिशियन, उपप्रमुख मे.ल्या.टे.,क.अब्स तथा गाइनेकोलेजिष्ट, क.ड्रमाटोलोजिष्ट, क.न्यूरोलोजिष्ट, क.पिडियाट्रिशियन एक÷एक जना र क.रेडियोलोजिष्ट दुई जना माग गरिएको छ ।