संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले समाजमा रेडियोको प्रभावकारी भूमिका रहेको बताएका छन्। वीरगञ्जबाट प्रसारण हुने रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उद्घाटन गर्दै, मन्त्री यादवले सञ्चारक्षेत्रले तल्लो वर्ग र पीडित समुदायको आवाजलाई मुखरित गर्न महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे। उनले सामुदायिक रेडियोलगायत सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धनका लागि राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए।
मन्त्री यादवले विपद्को समयमा सामुदायिक रेडियोहरुले जनतालाई आवश्यक सूचना सम्प्रेषण गराउन र सरकारका गतिविधिहरू नागरिकसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। वर्तमान आर्थिक चुनौतीहरूको सामना गर्न सामुदायिक रेडियोहरूलाई न्यूनतम शुल्कमा विद्युत आपूर्तिको सहुलियत दिन उर्जामन्त्रालयमा प्रस्ताव राख्ने आश्वासनसमेत दिए।
“सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिल्यै अंकुश लगाउने छैन,” भन्दै मन्त्री यादवले सञ्चार माध्यमको समर्थनले धेरै आन्दोलनहरू सफल भएको तथ्य उल्लेख गरे।
यसै अवसरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सञ्चार माध्यमले पूर्वाग्रहविनाको सूचना सम्प्रेषण गर्नु जरुरी रहेको बताए। उनले निष्पक्ष पत्रकारिताको विकासमा सञ्चार माध्यमको जिम्मेवारीबोध र समाजप्रतिको सकारात्मक दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे।
नेपाल पोष्ट मिडिया प्रालीका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बञ्जरा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुवोध गुप्ता, तथा अन्य प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो। कार्यक्रमको स्वागत मिडियाका प्रबन्ध निर्देशक संतोष साह र सञ्चालन सम्पादक अशाके संग्रौलाले गरेका थिए।
उद्घाटन समारोहमा सहभागीहरुले सामुदायिक रेडियोको योगदानलाई सम्मान गर्दै, समाजको विविध पक्षलाई उजागर गर्न निरन्तर कार्य गर्ने सामुदायिक रेडियोहरूको महत्त्वलाई उजागर गरे।