वीरगञ्ज १ कार्तिक : पर्सामा भन्सार छलि गरी अवैध रूपमा भित्र्याइरहेको करिब ३० लाख रुपैयाँ बराबरको खाद्यान्न बोकेको ट्रक पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय श्रीपुरको सक्रियतामा ना ३ ख ७३२ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोकबाट असोज १६ गते राति करिब १२:३० बजे नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार, ट्रकले बिना बिल भुक्तानी ठूलो मात्रामा खाद्यान्न र खुला मालसामानहरू बोकेर गन्तव्यतर्फ जाँदै गर्दा विशेष सूचनाका आधारमा श्रीपुर वडा प्रहरीको टोलीले प्रभावकारी अपरेसन गर्दै उक्त ट्रकलाई रोकी अवैध सामग्रीसहित नियन्त्रणमा लिएको हो।
उक्त ट्रक र सामग्रीलाई थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ। यस अपरेसनले अवैध ढुवानी रोक्न प्रहरीले आफ्नो अभियानलाई अझ सशक्त बनाएको छ।
प्रवक्ता भारतीले अवैध कारोबार नियन्त्रणमा प्रहरीले कडा निगरानी राख्ने र यस्ता गतिविधिमा संलग्न हुनेलाई कारवाही गरिने उनले बताए ।
