वीरगञ्ज ,असाेज २६ : प्रहरीले वीरगन्ज महानगरपालिका-१० आदर्शनगरबाट लागू औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको कालीकामाई गाउँपालिका-१ निवासी ५३ वर्षीय सुरेश प्रसाद कलवार र छिपहरमाई गाउँपालिका-१ निवासी २९ वर्षीय भारती प्रसाद यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीका अनुसार, शनिबार बिहान कलवारको घरमा छापा मार्दा, घरको कम्पाउन्डभित्र पार्क गरिएको ना ४८ प ३७६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाइएको अवस्थामा ४१८ ग्राम अफिम बरामद गरिएको हो।
अफिम बरामद भएपछि मोटरसाइकलका धनी कलवार र यादवलाई नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी भारतीले जानकारी दिए।
