आज:  | Tue, 21, Apr, 2026

आज विजयादशमी पर्व मनाइँदै, टीका र जमरा ग्रहण गर्दै

Avatar photo दिशा निर्देश २६ आश्विन २०८१, शनिबार १२:०९ मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज असोज २६ : दसैँको सबैभन्दा महत्वपूर्ण दिन विजयादशमी आज, नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरिँदैछ। दशैँ घरमा नौ दिनसम्म पूजा गरिएको देवीको प्रसाद मान्यजनले आज वितरण गर्दैछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभ साइत बिहान ११:३६ बजेको रहेको जनाएको छ। तर, सामान्य मानिसले साइत खोज्नु नपर्ने बताइएको छ।

समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार, राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ। देवीको शक्तिको आह्वानका लागि शुभ साइतमा टीका लगाउनु महत्त्वपूर्ण हुन्छ।

घटस्थापनाका दिन स्थापना गरिएको कलशबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। हर्षोल्लासका साथ नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा थापेर आजको दिन मनाइन्छ। टीका आज नभ्याउनेहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट ग्रहण गर्न सक्नेछन्।

आजको दिन टीका लगाउने साइतका साथ विसर्जनको साइत बिहान ८:३३ बजे रहेको थियो। धर्मशास्त्र अनुसार, आज मकर राशिमा रहेको चन्द्रमाका कारण टीका ग्रहण गर्ने व्यक्तिले पूर्वतर्फ फर्किनुपर्छ, जसले शुभ हुने विश्वास गरिन्छ।

विजयादशमी सत्यको विजयको प्रतीक हो। त्रेतायुगमा भगवान् रामले आजैको दिन रावणलाई पराजित गरेकाले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा मनाइन्छ। मान्यजनबाट आशीर्वाद लिँदा यश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गरिन्छ।

 


सम्बन्धित खबरहरु