आज:  | Tue, 21, Apr, 2026

पर्साका सीडीओको कडा निर्देशन: चाडपर्वमा मूल्यवृद्धि र सवारी भाडा नबढाउन चेतावनी

Avatar photo दिशा निर्देश १८ आश्विन २०८१, शुक्रबार १६:२२ मा प्रकाशित (१ साल अघि)

वीरगन्ज, १८ असोज: पर्सा जिल्लामा चाडपर्वको अवसरमा वस्तुहरूको मूल्यवृद्धि नियन्त्रण गर्न र उपभोक्ताको हित संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले व्यावसायीहरूलाई कडा निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालले शुक्रबार पाँच बुँदे अपिल जारी गर्दै दशैं, तिहार र छठ पर्वको समयमा माछा, मासु, खाद्यान्न र लत्ताकपडा लगायतका आवश्यक वस्तुहरूको मनपरी मूल्यवृद्धि नगर्न आग्रह गरेका छन्।

जारी सूचनामा सार्वजनिक सवारी साधनको भाडा नबढाउन, अखाद्य वस्तुको बिक्रीवितरण नगर्न, र बजारमा कुनै पनि प्रकारको अनुचित मूल्यवृद्धि नगर्न व्यावसायीहरूलाई सख्त निर्देशन दिइएको छ।

साथै, माछा मासु बिक्री गर्ने व्यापारीहरूलाई सफासुग्घर ठाँउमा माछा मासु काट्ने र बिक्री गर्ने, र स्वास्थ्य मापदण्ड अनुसार सफा एप्रोन लगाएर मात्र मासु बिक्री गर्न भनिएको छ।

सीडीओ भुसालले चाडपर्वमा ठूलो आवाजमा डिजे वा साउण्ड सिस्टम प्रयोग नगर्न, पटाका वा आतिसबाजीको प्रयोग र बिक्री वितरण नगर्न, र जुवा तास नखेल्न तथा नखेलाउन समेत कडा चेतावनी दिएका छन्। निर्देशन उल्लंघन भएमा सम्बन्धित व्यक्ति वा संस्था विरुद्ध कानूनी कारबाही गरिने पनि स्पष्ट गरिएको छ।

बजार अनुगमनलाई थप सशक्त बनाउन सम्बन्धित निकायहरूले विशेष पहल लिने जनाउँदै, उपभोक्ताको अधिकारको संरक्षणमा विशेष ध्यान दिइने सीडीओ भुसालले उल्लेख गरेका छन्।

 


सम्बन्धित खबरहरु