आज:  | Tue, 21, Apr, 2026

अविरल वर्षाको कारण पर्साको जनजीवन प्रभावित

Avatar photo दिशा निर्देश १२ आश्विन २०८१, शनिबार १३:०८ मा प्रकाशित (१ साल अघि)

वीरगन्ज १२ :अविरल वर्षाको कारण जिल्ला सदरमुकाम वीरगन्ज र ग्रामीण भेग पनि प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार वीरगन्ज महानगर वडा नं ६ र ७ कुम्हाल टोलमा नालाको पानी निकास नहुँदा बाटो र केही घरका आँगन जलमग्न भएको छ ।
महानगरकै वडा नं १ र २ भकुवा र छपकैंयामा पनि वर्षाको पानीको निकास नहुँदा बाटो जगलग्न भएका छन् र केही घरमा पानी पसेका छन् । महानगरकै वडा नं ११ डोम टोलमा सिर्सिया खोलाको पानी पस्दा आधा दर्जन घर पानी पसेको छ । कृषि औजार अनुसन्धान केन्द्र पनि जलमग्न भएको छ । श्रीपुर–रानीघाट क्षेत्रको सडक पनि जलमग्न छ ।

वीरगन्ज–१३ राधेमाईमा वडा प्रहरी कार्यालय श्रीपुरको भवनको पछाडिको भागमा सिर्सिया खोलाको भेल आएर क्षति पुगेको छ । प्रभावित स्थानहरुमा प्रहरी टोली पुगेर स्थानीयको उद्धारको प्रयास जारी रहेको डीएसपी भारतीले बताए । वीरगन्ज महानगरपालिका–१५ भिस्वा टोल पनि पानीको निकास नहुँदा डुबानमा परेको छ । वडा नं १६ नगवा क्षेत्र पनि डुबानमा परेको छ ।
वीरगन्जको आदर्शनगर क्षेत्रको मुख्य सडक डुबानमा परेको छ । सिर्सिया खोलाको पानी मुख्य नाला हुँदै प्रवेश गरेपछि आदर्शनगर क्षेत्र डुबानमा परेको हो ।

कृषि औजार अनुसन्धान केन्द्र परिसर वीरगन्जमा रहेको वर्षा मापन उपकरणमा शनिबार मध्यान्ह सम्म १ सय ९१ एमएम वर्षा मापन गरिएको केन्द्र प्रमुख इन्जिनियर सचिन कुमार मिश्राले जानकारी दिए । उनले कार्यालयको आवास गृहहरु डुबानमा परेको र कार्यालय परिसर जलमग्न भएको बताए ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सन्जालबाट महानगरवासीलाई सिर्सिया खोलाको जलस्तर बढेर मानवबस्ती प्रवेश गरेकाले सर्तकर्ता अपनाउन आह्वान गरेका छन् ।

बिन्दवासिनी गाउँपालिकामा तिलाबे खोलामा एप्रोच सडकसँग जोडिएको तटबन्ध भत्किँदा पुललाई जोखिम बढेको छ । पकाहामैनपुर गाउँपालिका–२ मा नाला जाम भई निकास नहुँदा २० घर डुबानमा परेका छन् । पर्सागढी नगरपालिका–९ मा तिलाबे खोलाको जलस्तर बढेर एकटाङ्गा–मनवा सडक खण्ड अवरुद्ध भएको छ ।

जिराभवानी गाउँपालिकामा ओरिया खोलाको जलस्तर बढेर महादेवपट्टी–सेडवा सडक खण्ड अवरुद्ध भएको छ । पटेर्वासुगौली गाउँपालिका–४ मा भलुही खोलाको जलस्तर बढ्दा पटेर्वासुगौली–शंकरसरैया सडक खण्ड अवरुद्ध भएको छ । पटेर्वासुगौली–२ मा भलुही खोलाको जलस्तर बढेपछि रंगपुर–मनवा सडक खण्ड अवरुद्ध भएको छ । हालसम्म मानवीय क्षतिको कुनै जानकारी नआएको डीएसपी भारतीले जानकारी दिए ।
साभार कान्तिपुर


सम्बन्धित खबरहरु