आज:  | Tue, 21, Apr, 2026

नगर प्रमुख तेलीमाथि पालिकाको सम्पत्ति दुरुपयोगको आरोप, प्रशासकीय अधिकृतलाई बदनाम गराउने षड्यन्त्र

Avatar photo दिशा निर्देश १२ आश्विन २०८१, शनिबार १०:३१ मा प्रकाशित (१ साल अघि)

पर्सा – पर्साको बहुदरमाई नगरपालिकामा नगर प्रमुख सिंहासन साह तेलीले नगरपालिकाको सम्पत्ति व्यक्तिगत प्रयोगमा लगेको आरोप सार्वजनिक भएको छ। नगर प्रमुखले पालिकाको लागि खरिद गरिएको एसी, सोफा सेट, कुर्सी, टेबल लगायतका सामग्रीहरू आफ्नो कार्यालयको नाममा लिएर आफ्नो घरमा पुर्‍याएको जनाइएको छ।

वडा अध्यक्ष सुनिल कुशवाहाका अनुसार नगर प्रमुखले न केवल आफु, तर आफ्ना निकट कार्यकर्ताहरूको घरमा समेत यस्ता सामान पठाउन लगाएका छन्। उदाहरणस्वरूप, प्रमुख निकट विपिन यादवले पनि आफ्नो घरमा सोफा सेट लगायतका सामग्री पुर्‍याएको रिपोर्ट गरिएको छ। यादवले आफ्नो निजी काममा समेत पालिकाको नाममा दर्ता भएको सरकारी मोटरसाइकल प्रयोग गरिरहेका छन्, जसको दुरुपयोग विद्यालयमा बच्चा पुर्याउन, किनमेल गर्न र अन्य व्यक्तिगत कार्यमा भइरहेको देखिएको छ।

यसबारेमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्तुफाले नगर प्रमुखलाई सम्पत्ति फिर्ता गर्न आग्रह गरेपछि स्थिति थप जटिल बनेको छ। वडा अध्यक्ष कुशवाहाका अनुसार नगर प्रमुखले सम्पत्ति फिर्ता नगर्ने अडान लिँदै, प्रमुख प्रशासकीय अधिकृतलाई हटाउन काठमाण्डू धाउने प्रयास गरेका छन्।

यद्यपि, कानुनी रूपमा २ वर्षको अवधि पूरा नभएसम्म प्रशासकीय अधिकृतलाई स्थानान्तरण गर्न नमिल्ने हुँदा, नगर प्रमुख निकटहरूले प्रशासकीय अधिकृतलाई बदनाम गराउन मिडियामा नकारात्मक प्रचारबाजी गराउन लागेको आरोप समेत लागेको छ।

नगर प्रमुखको यस्तो व्यवहारले नगरसभामा विवाद उत्पन्न गराएको र यसले नगरपालिका प्रशासनमा अस्थिरता ल्याएको छ। प्रशासकीय अधिकृतलाई हटाउन खोज्नुको पछाडि नगर प्रमुखले पालिकाको सम्पत्ति फिर्ता नगर्ने उद्देश्य रहेको जनाइएको छ।

नगरपालिकाको सम्पत्तिको दुरुपयोग रोक्न र प्रशासकीय अधिकृतमाथि षड्यन्त्र रोक्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग नगरवासीले गरेका छन्।


सम्बन्धित खबरहरु