अब्दुल कलाम हुसेन
वीरगञ्ज । सार्बजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको व्यवस्था कार्यन्वयनका लागि पर्साका विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् ।
पाँच वटा विद्यार्थी संगठनले शुक्रवार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापन पत्र बुझाउँदै सवारी साधनमा विद्यार्थीले पाउनुपर्ने छुटको व्यवस्था कार्यन्वयन गर्न माग गरिएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) पर्साका अध्यक्ष रमेश कुमार यादव, अनेरास्ववियुका अध्यक्ष अजित साह, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिरोज अहमद, समाजवादी विद्यार्थी युनियन पर्साका अधयक्ष हरेन्द्र साह र समाजवादी विद्यार्थी युनियन नेपालका उपाध्यक्ष सागीर अलीले हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
सार्बजनिक सवारीमा विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत सहुलियत कागजमै सिमित भएको भन्दै ज्ञापन पत्रमार्फत सयुँक्त विद्यार्थी संगठन पर्साले आपत्ती जनाएको छ । विद्यार्थीहरुले दिनहु कलेज आउँदा जाँदा सार्बजनिक सवारी साधन प्रयोग गर्ने भएपनि वीरगञ्जसहित मधेश प्रदेश भरीमै कार्यन्वयन नभएको भन्दै संगठनले दबाब दिएका छन् ।
काठमाण्डौ उपत्यकामा मात्रै सहमतिअनुसार विद्यार्थीले सहुलियत पाएपनि तराई भेगमा पूर्ण रुपमा बस व्यवसायीले मनोमानी रुपमा भाडा लिने गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
बस व्यवसायीले मनोमानी भाडा असुल्दा पनि सरोकारवाला निकायले कुनै पहल नगरेको हुँदा सहुलियत दर कार्यन्वयनका लागि माग गरिएको नेपाल विद्यार्थी संघका जिल्ला सचिव अब्दुल कलाम हुसेनले बताए ।
