काठमाडौँ —पहिरोमा परेर दुईवटा बस र त्यसमा रहेका यात्रुहरू त्रिशूलीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ । नदीमा हराइरहेका दुईवटै बस र फेला नपरेका यात्रुहरूको खोजी कार्य अझै पनि जारी नै छ । त्रिशूलीमा बेपत्ता बस र त्यसका यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो ।
साउन १३ मा भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो ।
नेपाली सुरक्षाकर्मीहरूको टोलीले सोही दिनबाट दोस्रो चरणको खोजी जारी राखेको छ । ‘हामीले दुर्घटनास्थल सिमलतालभन्दा केही तल घुमाउने केराबारीदेखि भोर्ले क्षेत्रमा त्रिशूली नदीमा नियमित निगरानी गरिरहेका छौं । ११ जनाको टोली यसमा खटेको छ,’ सशस्त्र प्रहरीको चितवन कुरिनटारमा रहेको विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधव पौडेलले भने ।
नारायणगढ आँपटारीमा रहेको सशस्त्र प्रहरीको १७ नम्बर गणमा गोताखोर टोलीलाई तायरी अवस्थामा राखेको उनले बताए । नवलपरासीको टोलीले नारायणी क्षेत्रको त्रिवेणीसम्म निगरानी गरेको उनले जानकारी दिए । ‘भेल बाढी आएसँगै नदीको धार केही परिवर्तन हुँदो रहेछ । यस्तो बेला बालुवाको ढिस्कोहरु देखिन्छ । बसका केही अवशेषहरु फेला पर्दछन् कि भनेर दुर्घटनास्थलभन्दा केही तल हामीले हेरि रहेका छौं,’ एसएसपी पौडेलले भने ।
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रको सिँदुरेगैरामा आएको लेदोसहितको पहिरोमा परी असार २८ गते शुक्रबार बिहानपख साढे तीन बजेतिर दुईवटा यात्रु बस सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए । दुई बसमध्ये एउटा बसका तीनजना यात्रुले नदीमा पुगे पनि आफैं पौडेर ज्यान जोगाएका थिए । दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए ।
खोजीमा क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रबाट २५ वटा शव भेटिएका थिए । दुर्घटनास्थलभन्दा १०७ किलो मिटर तलबाट पनि शव भेटिएका थिए ।
तर भेटिएकामध्ये १९ वटा शव मात्रै दुर्घटनामा परेका दुईवटा बसका यात्रु भएको पुष्टि भएको छ । सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृहमन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।
