अब्दुल कलाम हुसेन /वीरगंज २० साउन : यातायात व्यवस्था कार्यालय वीरगंजले गत आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब ५१ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
यातायात कार्यालयले गत आ.ब. मा विभिन्न राजश्व शीर्षकबाट १ अर्ब ५१ करोड १८ लाख ७७ हजार ६ सय ८ रूपैयाँ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय वीरगंजका प्रमुख कमल गौतमले जानकारी दिए ।
प्रमुख गौतमका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी १ अर्ब १० करोड ५१ लाख ७५ हजार ४९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सबैभन्दा कम प्रशासनिक दण्ड, जरिवाना र जफत बाट १५ हजार ८ सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३४ करोड २४ लाख ९० हजार १ सय ७२ रुपैयाँ र यातायात क्षेत्रको आम्दानीतर्फ ६ करोड ४१ लाख ९१ हजार ४ सय ९० रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
यस्तै चालु आवमा कार्यालयको बेरुजु रकमध्ये ५ हजार ९७ रुपैयाँ असुलउपर गरिएको पनि कार्यालय प्रमुख गौतमले बताए ।
