वीरगन्ज,१३ साउन :सिर्सिया नदि प्रदुषित गर्ने उद्योगहरुमा वीरगन्ज महानगरपालिकाले कारबाही स्वरुप सहरबाट संकलन गरिएका कचरासहितको फोहोर लगेर फयाँकी दिएको छ ।
नदीमा प्रदुषण नगर्न पटक पटक चेतावनी दिनुका साथै आर्थिक जरिबाना गर्दापनि नटेरेपछि आइतबार बिहानै वीरगन्ज महानगरपालिकाले तीन वटा उद्योगमा कचरासहितको फोहोर ट्याक्टरमा लगेर उद्योगको गेटभित्रै खसालेर थुपारि दिएको हो ।
मेयर राजेशमान सिंहको निर्देशनमा आइतबार वीरगन्ज–२१ परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग प्रालि,श्रीसिद्धि टेक्सटाइल्स प्रालि र मोरियम लेदर इण्डस्ट्रिजमा गरी ९ ट्याक्टर कचरासहितको फोहोर लगेर थुपादिएको वीरगन्ज महानगरको सरसफाई व्यवस्थापन महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।
यसअघि गत बैशाख ९ गते वीरगन्ज महानगरले नदी प्रदुषित गर्ने उद्योगहरु सिल गर्ने तयारी गरेपछि त्यहिदिन ९ वटा उद्योगका सञ्चालकहरुले महानगरपालिकामै पुगेर १५ दिनको समय माग्दै नदीमा प्रदुषण नगर्ने लिखित रुपमै सामुहिक प्रतिबद्धता जनाएका थिए ।
तर उक्त प्रतिबद्धता जनाएको ३ महिना बितिसक्दापनि नदीको प्रदुषण नरोकिएपछि बाध्य भएर कारबाही स्वरुप आइतबार अटेरी गर्नेमध्येका ३ वटा उद्योगमा महानगरले सहरबाट संकलन गरिएको कचरासहितको फोहोर लगेर थुपारिदिएको मेयर सिंहले बताए ।
उनले भने,‘पटक पटक म आँफैले नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन गरेर सचेत गराए । ५ वटा उद्योगलाई ३÷३ लाख रुपैयाँका दरले आर्थिक जरिवानापनि गरियो । उद्योगीहरु आँफै महानगरपालिकामा आएर १५ दिनको समयपनि मागे । तर नदीको प्रदुषण रोकिएन । अब अत्ति नै भएपछि आज कचरासहितको फोहोर लगेर महानगरले उद्योगभित्र थुपारिदिएको हो ।’
यति गर्दापनि उद्योगहरुले नदी प्रदुषण नरोकेमा नेपालकाे प्रचलित कानून बमोजिम महानगरपालिकाले नदी प्रदुषित गर्ने उद्योगहरुविरुद्ध अझ कडा कदम चाल्ने चेतावनपनि उनले दिए ।
गत बैशाख ९ गते महानगरपालिकाको कार्यालयमै पुगेर ९ वटा उद्योगका सञ्चालकहरुले अन्तिम पटकका लागि १५ दिनको समय माग्दै १५ दिनभित्रमा आँफुहरुले उद्योग परिसरमा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिसक्ने र त्यसपछि उद्योगको फोहोर पदार्थ र रसायनयुक्त पानी नदिमा बिसर्जन नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।
त्यसअघि गत असोज २९ गते वीरगन्ज महानगरमा पर्सा र बारा दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख र उद्योगीहरु सहभागी बैठकले गत छठ पर्व अगाडि नै (कार्तिक महिनामा) सिर्सिया नदीको प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गर्ने लिखित निर्णय नै गरेको थियो ।उक्त बैठकमापनि उद्योगीहरुले सिर्सिया नदीमा भइरहेको प्रदुषण रोक्ने प्रतिबद्धतापनि जनाएका थिए ।
त्यसअघि १४चैत २०७९ मा वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषण गरेका वीरगन्न्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई ३÷३ लाख रुपैयाँ जरिबाना समेत गरेको थियो ।यस्तै १६ फागुन २०७९ मा पनि महानगगरले उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर १÷१ हजार रुपैया जरिबाना तिराएको थियो ।
वीरगन्जको लाइफलाइनका रुपमा रहेको सिर्सिया नदी विगत तीन दशक बढी समयदेखि उद्योगहरुले प्रदुषित गर्दै आइरहेका छन् ।बाराको रामवनबाट सुरु भई पर्साको वीरगन्ज महानगर हुदैं सीमावर्ती भारतको रक्सौल सम्म बगेकाो सिर्सिया नदी विगत तीन दशकदेखि प्रदुषण र अतिक्रमणको चपेटामा पर्दै आएको छ ।
वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन, कागज लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू सिधै नदीमा मिसाइँदा नदी प्रदुषित र दुर्गन्धित बनेको हो ।
वीरगञ्ज महानगरपालिकाले यस घटनाबाट सबै उद्योगहरूलाई पाठ सिक्न आग्रह गर्दै वातावरणीय जिम्मेवारी र नागरिक स्वास्थ्यप्रति संवेदनशील बन्न आह्वान गरेको छ।