आज:  | Tue, 17, Jun, 2025

ढुंगेलले पर्सा प्रहरीको कमाण्ड सम्हालेयता अबैध तस्करी, लागुऔषध कारोबारमा उल्लेख्य सुधार

Avatar photo दिशा निर्देश १२ श्रावण २०८१, शनिबार १०:१० मा प्रकाशित (१0 महिना अघि)
Share

अब्दुल कलाम / साउन १२ वीरगंज:प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड सम्हालेको ५ महिना यता अबैध तस्करी, लागुऔषध कारोबार र अपराधजन्य घटनामा उल्लेख्य सुधार आएको छ ।
सीमापारबाट हुने अबैध ओसारपसार तथा तस्करीमा कडाइ गर्दै प्रहरी उपरीक्षक ढुंगेल हाजिर भएयता सर्टिङ सुटिङका कपडा, मोटर पार्टस, खाद्यान्न लगायतका सामान नियन्त्रणमा लिएर करिब २३ करोड भन्दा बढी भन्सार तथा राजश्व दाखिला गर्न सफल भएका छन् ।

प्रहरी उपरीक्षक ढुंगेल गएको फागुन २ गते सरुवा भएर ९ गतेबाट जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कार्यभार सम्भाल्दै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख ढुङ्गेलले प्रहरीको सक्रियताकै कारण अवैध रूपमा भन्सार छली तथा चोरी पैठारी र बिलबीजकभन्दा धेरै सामान ल्याउनेमाथि निगरानी बढाएकै कारण बरामद हुने समान तथा रकम बढेको बताए ।

प्रहरीले चोरी, तस्करी गरेर भित्र्याएको सामान बरामद गरेर वीरगंज भन्सार कार्यालयमा बुझाउने गरेको छ भने बिलबीजक अनुसार नभएको सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेको छ ।
यस्तै ढुंगेलले कार्यभार सम्भालेयता भारतबा नेपाल भित्र्याउन लागिएको करिब ३७ हजारभन्दा बढी कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट समेत गरिएको छ ।

भन्सार छलेर हुने चोरी तस्करी नियन्त्रणमा विशेष ध्यान दिएर चेकजाँच कडाइ गरिएको उपरीक्षक ढुंगेलले बताए ।
यस्तै वीरगंज लगायत आसपासमा रहेका केही होटलमा वेश्यावृत्ति गराउने कार्य भइरहेको र ती होटलबाट ४७ जना महिलापुरुष पक्राउ गरि मिुद्धा चलाइएको पनि पर्सा प्रहरीले जनाएको छ ।

यस्तै पर्सा प्रहरीले फैसला कार्यान्वयन गराउन विभिन्न समयमा अदालतबाट फैसला भएर फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरि अदालत बुझाउने कार्यलाई पनि तिब्रता दिएको छ । यो पाँच महिनाको समयमा पर्सा प्रहरीले ७ सय ६३ जना विभिन्न जयन्य तथा पुरानो मुद्धाका कसुरदारलाई पक्राउ गरि अदालतमा बुझाएको हो । यही समयमा प्रहरीले पर्साबाट २ नाल सानो हतियार सहित ३ जनालाई पक्राउ गरेको छ ।

हुन्डी कारोबारमा संलग्नबाट ५७ लाख बरामद

प्रहरी प्रमुखको कार्यभार सम्हालेको ५ महिनामै ढुंगेल नेतृत्वको पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न १० जना कारोबारीबाट झण्डै ५८ लाख रुपैयाँ जफत गरेको छ । जसमा ७ जना पुरुष र १ जना महिला छन् भने २ जना विदेशी नागरिक समेत पक्राउ गरिएको प्रहरी उपरीक्षक ढुंगेलले बताए ।
खुला सीमाका कारण भन्सार छली हुने तस्करीका साथै हुण्डि कारोबार तथा अन्य अपराधिक गतिविधिका जोखिम बढी हुने भएकाले विशेष सतर्कता अपनाएर प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यस्तै पर्सा प्रहरीले यो पाँच महिनामा लागुऔषध कारोबारमा संलग्न १२७ जना नेपाली र १९ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

सबैभन्दा बढी ८७ केजी गाँजा बरामद भएकोमा चरेस २९ केजी, हेरोइन झण्डै ४ सय ग्राम, अफिम १५४ ग्राम बरामद भएको पर्सा प्रहरीको तथ्यांकमा उल्लेख छ ।
यस्तै फेनारगन २ हजार ९१४ पिस, डाइजापामा २ हजार ९११ पिस, नुर्फिन २ हजार ८७७ पिस, नाइट्रोभेट ट्याब्लेट ४ हजार ४११ पिस र कोरेक्स ३५९ बोत्तल बरामद गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ ।

आफूहरु समाजमा शान्ति सुरक्षा स्थापना गर्दै चोरी तस्करी नियन्त्रण गर्न अहोरात्र खटिरहेको भन्दै प्रहरी प्रमुख ढुंगेलले यसमा सबै नागरिकको साथ र सहयोगको आवश्यकता रहेको बताए ।


सम्बन्धित खबरहरु