आज:  | Mon, 20, May, 2024

वीरगञ्जमा पाठेघर खस्ने समस्या सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Avatar photo दिशा निर्देश २३ बैशाख २०८१, आईतवार ०१:२२ मा प्रकाशित (२ हफ्ता अघि)

जोतीलाल पंडित

वीरगञ्ज,२२ वैशाख । पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्ज स्थित नारायणी अस्पतालको सभाहलमा राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँ र हेल्थ नेपाल मिडिया प्रा.लि. , नारायणी अस्पतालको संयुक्त आयोजनामा शनिबार वीरगञ्जमा ” पाठेघर खस्ने समस्या सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

नारायणी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मन्जु रायले पाठेघर खस्ने समस्या सम्बन्धि जानकारी गराउनु भएको थियो ।

कम उमेरमै आमा बन्दा, घरमै सुत्केरी गराउदा, व्यथा बढेर सुत्केरी गराउदा, कम समयको अन्तरमा सन्तान जन्माउदा, सुत्केरीले आराम नपाउँदा आदि कारणले महिलामा पाठेघर खस्ने समस्या बढी देखिने गरेको डा. मन्जु रायले बताइन् । उनले धुम्रपान गर्ने र दमको समस्या भएका महिलालाई पाठेघर खस्ने जोखिम झनै बढी हुने गरेको बताइन् । कतिपय महिलामा महिनावारी सुकेपछि पनि यो समस्या देखिने गरेको उनले बताइन् ।

पाठेघर खस्ने समस्याको निःशुल्क उपचार र शल्यक्रिया समेत हुने भए पनि तराईमा रोग लुकाएर राख्ने र जटिल समस्या नहुन्जेलसम्म अस्पताल नआउने प्रवृतिले पनि यो समस्या बढ्दो क्रममा रहेको बताइन् । ‘पहाडमा समस्या देखिए महिलाहरु खुल्ने तर तराईमा नखुल्ने प्रवृति बढी छ,’ उनले भनिन्, ‘नारायणी अस्पतालमा मात्रै गत आवमा ५० र चालु आवमा हालसम्म ५५ महिलाको खसेको पाठेघरको शल्यक्रिया गरी सकेका छौं ।’

डा रायले महिला तथा पुरुष दुबैलाई प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी हुनुपर्ने, बालविवाह रोक्नु, २ गर्भ बीच समयको अन्तर राख्नु, गर्भवतीलाई अस्पतालमै सुत्केरी गराउनु, सुत्केरी अवस्थामा आराम दिनु, महिलाले धुम्रपान नगर्नु, पीडित महिलाले कानुनी उपचार खोज्नु र रोग बारे सचेतना फैलाउनुनै यो समस्याको न्यूनीकरण गर्ने उपाय रहेको बताइन् ।

ग्रामीण तथा दुर्गम भेगमा धेरैलाई पाठेघर खस्नु के हो, खसे कसलाई भन्ने र कहाँ जानेजस्ता विषयमा अझै जानकारी छैन यो अवस्थामा सुधार ल्याउनको लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मन्जु रायले पत्रकारहरुलाई खुलेर संचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।

वीरगञ्ज महानगरपालिका कार्यालय जनस्वास्थ्य महाशाखाकी प्रजनन् स्वास्थ्य कार्यक्रम संयोजक इन्दिरा लोहनीले महानगरमै पनि यो समस्या निरन्तर देखा परिरहेको बताइन् । विशेषगरी महानगरको वडा १७ देखि ३२ वडासम्म यो समस्या बढी पाइएको उनले बताइन् । यी वडा महानगरका ग्रामीण वडा हुन् ।

महिला स्वास्थ्य सम्बन्धि सबैधानिक तथा कानुनि व्यवस्थाहरु बारे मकवानपुर जिल्ला सरकारी वकिल कार्यालयको सहायक जिल्ला न्याधिवक्ता बिष्णु कुमारी चौधरीले प्रकाश पार्नु भएको थियो ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले मधेशका प्रजनन् उमेरका महिला मध्ये १० देखि ४० प्रतिशत सम्म महिलामा पाठेघर खस्ने समस्या रहेको बताए । उनले उमेर बढ्दै जाँदा महिलामा यो समस्या झनै बढ्ने गरेको बताउँदै उनले मधेशमा स्वास्थ्य प्रति कम चाँसो र संवेदनशील नहुने प्रवृतिले पनि यो समस्या बढ्दो क्रममा रहेको बताए ।

 

पाठेघर खस्ने सम्बन्धि पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रमको समापन नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खड्काले गरेका थिए ।

 

 


सम्बन्धित खबरहरु