वीरगञ्ज – नाबालिका बलात्कार आरोपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्जको स्पर्श मल्टी स्पेशालिटी हस्पिटलमा कार्यरत कर्मचारी बाराको परवानीपुर गाउँपालिका–२ मुसहर टोलका २३ वर्षीय आकाश मण्डल भएको पर्सा प्रहरीले जनाएको छ ।
अस्पतालमा बिरामी कुरुवाका लागि आएकी नाबालिकालाई मण्डलले जबर्जस्ति बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
१५ वर्षीया बालिकालाई असोज २३ गते राति जर्बजस्ती करणी गरेको भन्ने उजुरी उनका परिवारले कात्तिक ८ गते दिएपछि त्यही दिन पक्राउ गरिएकाे पनि गिरीले जानकारी दिए ।
यस अघि उपचारमा आएकी महिला बलात्कृत भनिएकोमा उपचारमा आएकाको हेरचाहमा आएकी नाबालिका बलात्कृत भएकी हुन् ।
बलात्कारमा परेकी नाबालिकाको आफन्त हाड सम्बन्धी उपचारका लागि गएको केही सातादेखि अस्पतालमा राखिएको छ ।
उनैलाई खाना ल्याउने र हेरचाह गर्न बालिका अस्पतालमा रहने गर्थिन् । उनलाई मण्डलले प्रलोभन देखाएर बलात्कार गरेको भन्दै बालिकाका दाजुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले मण्डललाई पक्राउ गरेको हो ।
पक्राउ परेका मण्डललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।
अस्पताल सञ्चालक महेश्वर कुर्मीले अस्पतालमा आफ्नो एकल नेतृत्व नभएर ८ जना सञ्चालक भएको बताउँदै पछिल्लो एक महिनादेखि आफू अस्पताल नगएकाले बताए ।
अस्पतालमा उपचाररत रहेकी महिलाले ४ लाख रुपैयाँ तिर्न पर्ने भए पनि अहिलेसम्म नतिरेको र उनलाई घर लैजान पटक पटक उनको परिवार र प्रहरीलाई पनि जानकारी गराइएको उनले बताए ।
घटना अस्पतालमा नभएर बाहिर भएकाले पनि आफूहरुलाई कुनै जानकारी नभएको भन्दै उनले बाहिर भएको घटनालाई अस्पतालसँग नजोड्न पनि उनले आग्रह गरे ।
