वीरगञ्ज – बिक्रीका लागि बजार पठाएको उद्योगबाट उत्पादित ५० लाख मूल्यको खाने तेल सम्बन्धित ठाउँमा नपुर्याई बाटोबाटै चोरी गरेर अन्यत्रै बिक्री गर्ने ४ जना पक्राउ परेका छन् ।
वीरगञ्ज पथलैया औद्योगिक करिडोर अन्तर्गतको बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा रहेको मनोकामना आयल फुड प्रोसेसिङ प्रा.लि.बाट उत्पादित ५० लाख मूल्य बराबरको तेलसहित ४ जनालाई पक्राउ गरिएको हो ।
उद्योगले वीरगञ्जको अंजनी क्यारियर्स मार्फत सिन्धुलीको रोबिन सप्लायर्स प्रा.लि. कमलामाई लैजान प्रदेश २–०३–००१ ख ४८१२ नम्बरको ट्रकमा तेल लोड गरेर पठाएको थियो ।
१ लिटरका १४ हजार ५६० र आधार लिटरको ५ हजार ९१५ पोका तेल ट्रकमा लोड गरेर पठाइएको भए पनि सम्बन्धित ठाउँमा नपुगेपछि उद्योगले खोजि गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएको थियो ।
करिब ५० लाख मूल्यको तेल बाटोबाटै गायब भए पछि गएको असोज ३० गते उद्योगले उजुरी गरेको थियो । २८ गते उद्योगबाट तेल लिएर निस्केको ट्रक दुई दिनसम्म पनि सम्बन्धित स्थानमा नपुगेपछि उद्योगले खोजी गरिदिन भन्दै प्रहरीमा उजुरी गरेको ५ दिनपछि प्रहरीले ४ जनासहित ट्रक र केही परिमाणमा तेल बरामद गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक हाेबिन्द्र बाेगटीले जानकारी दिए ।
प्रहरीले ट्रक चालक नुवाकोटको शिवपुरी गाउँपालिका १ घर भई काठमाण्डौ वस्ने ४३ वर्षका सुकमान तामाङलाई कल ट्रेस गरेर कार्तिक ४ गते पक्राउ गरेपछि उनकै बयानका आधारमा घटनामा संलग्न अन्य ३ जना पक्राउ परेका हुन् ।
ट्रक चालक तामाङले सिन्धुली पुर्याउनु पर्ने तेल बाटोबाटै कुरा मिलाएर रौतहट पुर्याएका थिए । उनले रौतहटको गौर नगरपालिका १ का रमेश कुमारको घरमा तेल भण्डार गरेका थिए ।
भण्डारण गरेको घरबाट ट्रकमा लोड गरिएको भन्दा निकै कम ३ हजार १ सय १७ लिटर मात्रै तेल फेला परेको छ । बाँकी तेल उनीहरुले विक्री गरिसकेको प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले रमेशका साथै रौतहटकै बृन्दावन नगरपालिका ६ हर्साहाका ३८ वर्षीय शेष कलाम र सोही गाउँपालिका ८ का ४७ वर्षका बैद्यनाथ साह तेलीलाई पक्राउ गरेको छ ।
उनीहरु पक्राउ परेको भोलिपल्ट मात्रै बाराको सिम्रौनगढ बजारबाट ट्रक वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि हिरासतमा राखिएको छ ।
