वीरगञ्ज – डेढ कराेडभन्दा बढी मूल्यकाे चकलेट, सर्टिङ सुर्टिङ, लत्ता कपडा तथा खुद्रा सामान बाेकेकाे २ वटा ट्रक प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएकाे छ ।
वडा प्रहरी कार्यालय बिर्ताबाट खटेकाे टाेलीले बिहीबार दिउँसाे वीरगञ्ज महानगरपालिका वडा नं. ६ लाेहारपट्टी सडकखण्डबाट ना ५ ख ६९५९ नम्बरकाे मालवाहक ट्रकबाट विभिन्न किसिमका सर्टिङ सुर्टिङ तथा लत्ता कपडा फेला परेपछि नियन्त्रणमा लिएकाे हाे ।
नियन्त्रणमा लिइएकाे ट्रकसहित सामानकाे मूल्य १ कराेड २ लाख ४६ हजार ६९ रुपैयाँ मूल्यांकन गरीएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
यस्तै प्रहरीले वीरगञ्जकै परवानीपुरबाट बुधबार राती विभिन्न किसिमका चकलेटसहितकाे ट्रक नियन्त्रणमा लिएकाे छ ।
सवारी जाँचका क्रममा बिपी १३ बिए ०२४७ नम्बरको भारतीय ट्रकमा लाेड गरिएकाे चकलेट बरामद गरेकाे प्रहरीले जनाएकाे छ । बरामद चकलेट सहित ट्रककाे ५० लाख मूल्याकंन गरिएकाे प्रहरीले जनाएकाे छ ।
बिल बिजक तथा भन्सार प्रज्ञापन पत्रमा उल्लेखित परिणामभन्दा फरक देखिएकाले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे हाे ।
बरामद सामान सहितकाे दुवै ट्रक थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता गिरीले बताए ।
