वीरगञ्ज – वीरगञ्जको गण्डकस्थित मेडिसिटी वयोद्या अस्पतालले विश्व स्तनपान दिवसको अवसरमा शिक्षिकाहरुसँग अन्तरक्रिया गरेको छ ।
वीरगञ्जका विभिन्न विद्यालयहरुमा अध्यापन गराउने शिक्षिकाहरुलाई स्तनपानका बारेमा जानकारी गराउने अभिप्रायले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालकै सभाकक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल लगायतका विधालयका शिक्षिकाहरुलाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर आनन्द रौनीयारले स्तनपानको आवश्यकता, फाइदा, आमा र बच्चाको स्वास्थ्यमा स्तनपानको महत्व लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।
अस्पतालकी एसिस्टेन्ट नर्सीङ सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरिका, स्तनपान गराउदा आमाले ध्यान दिनु पर्ने कुराहरुको बारेमा जानकारी दिएकी थिइन् ।
कार्यक्रममा नेपाल मेडिसिटी वयोद्या अस्पतालका प्रमुख विजय रिमालले अस्पतालले गर्भवती महिलाका लागि आवश्यक पर्ने प्रिन्टल क्लाश र हेल्दी बेबी क्लीनीक सन्चालन गर्न लागेको जानकारी गराए ।
कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर अभिषेक सिंह, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर रुबिना ताम्रकार, अस्पतालकी क्लीनीकल कोर्डिनेटर डाक्टर स्वेता झा लगायतको सहभागीता थियो ।
