वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले राजस्व संकलनको लक्ष्य भेट्टाएको छ ।
गएको आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्ममा तोकिएको लक्ष्य भन्दा एक अर्ब बढी राजस्व संकलन गर्दै भन्सारले लक्ष्य पुरा गरेको हो ।
गएको आर्थिक वर्षमा २ खर्ब ३ अर्ब २ करोड ५० लाख राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो ।
भन्सारले यो अवधीमा २ खर्ब ४ अर्ब १२ करोड ३ लाख रुपैयाँ राजसव संकलन गर्दै लक्ष्यभन्दा १ अर्ब बढी राजश्व संकलन गर्न सफल भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । भन्सार कार्यालयले संकलन गरेको राजस्व लक्ष्यभन्दा ०.५ प्रतिशत बढी हो ।
जेठ, असारमा इन्धन र सवारी साधनबाट राम्रो राजस्व आएपछि लक्ष्य भेटाउन सफलता मिलेको उनले बताए ।
गत जेठ महिनामा आफ्नो राजश्व असुलीको लक्ष्य भेटाएसँगै वीरगञ्ज भन्सार कार्यालयले समग्र वर्षमा पाएको लक्ष्यभन्दा बढी राजश्व असुली गरेर देखाएको हो ।
वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्षको पछिल्लो पाँच महिनामा राजश्व उठाउने लक्ष्य पूरा गर्न नसकेको भए पनि जेठ महिनामा लक्ष्य भन्दा बढी असुली गरेको थियो ।
असारमा पनि लक्ष्यभन्दा १२ प्रतिशत कम मात्रै राजश्व संकलन गरेको भन्सारले जेठ महिनामै भएको असुलीले लक्ष्य धानेको हो ।
वीरगंज भन्सारबाट मुख्यगरी पेट्रोल, भटमासको कच्चा तेल, एलपी ग्याँस, दन्तमञ्जन, प्लास्टिक कोटेड पेपर, प्लास्टिक दाना, जीप, कार, भ्यान, स्याम्पु, मोटरगाडीका पार्टपुर्जा पैठारी भएका छन् ।
यस्तै अर्गानिक डाइज र पिगमेन्ट, स्वास्थ्य उपकरण, फर्निश आयल, अन्य कपडा (उनी, सुती, टेरिकटनबाहेक), बिजुलीका स्वीच, प्लग, फ्युज, होल्डर आदि, हाते ’झोला, अन्य कोइला, धाराका सामान (भल्ब, टुटी आदि), मेशिनरी पार्ट्स, नरियल, फूड सप्लिमेन्टलगायतका सामान बढी मात्रामा आयात भएको छ ।
