आज:  | Tue, 21, Apr, 2026

यातायात कार्यालय वीरगञ्जले लाइसेन्सबाट मात्रै उठायाे १७ करोड राजस्व

Avatar photo दिशा निर्देश ३ श्रावण २०७९, मंगलवार ०९:२७ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – यातायात व्यवस्था कार्यालय वीरगञ्जको लाइसेन्स शाखाले गएको आर्थिक वर्ष २०७८/०७९ मा १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ भन्दा गएको आर्थिक वर्ष ०७८/०७९ मा ७ करोड बढी राजस्व संकलन गर्न लाइसेन्स शाखा सफल भएको हो ।

गएको आर्थिक वर्ष २०७८/०७९ मा यो शाखाले १७ करोड १५ लाख ६२ हजार राजस्व संकलन गरेको छ ।

गएको आर्थिक वर्षको चैत महिनामा यो शाखाले सबैभन्दा धेरै राजस्व संकलन गरेको थियो । चैतमा सबैभन्दा धेरै २ करोड २४ लाख ५४ हजार रुपैयाँ संकलन गरेको यो शाखाले त्यसपछि फागुनमा १ करोड ९१ लाख ४२ हजार, माघमा १ करोड ८० लाख २० हजार रुपैयाँ संकलन गरेको थियो ।

असोजमा सबैभन्दा कम ८४ लाख ४७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको यो शाखाले आर्थिक वर्षको सुरुको महिना साउनमा भने १ करोड ३२ लाख ४८ हजार संकलन गरेको थियो । आर्थिक वर्षको अन्तिम महिना असारमा भने १ करोड ३७ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख सुशील साहले बताए ।

जसमा लाइसेन्स नवीकरण शुल्क बापत सबैभन्दा बढी राजस्व संकलन भएको पनि उनले जानकारी दिए । लाइसेन्स नवीकरण बापत गएको आर्थिक वर्षमा ९ करोड ४ लाख ७९ हजार रुपैयाँ संकलन भएको छ ।

यस्तै नयाँ लाइसेन्स शुल्कबापत ३ करोड ३० लाख ६४ हजार, नयाँ आवेदन शुल्कबापत २ करोड २४ लाख १७ हजार रुपैयाँ कार्यालयले संकलन गरेको छ ।

वर्ग थपबापत ९९ लाख ४० हजार, प्रतिलिपि तथा नवीकरण दस्तुरबापत ८९ लाख २१ हजार, दोस्रोपटक वर्ग थपबापत ६१ लाख नौ हजार, प्रतिलिपि दस्तुरबापत ६ लाख ३० हजार गरी १७ करोड १५ लाख ६२ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिए ।

यो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा करीब १० करोड राजस्व सङ्कलन गरेको थियो भने त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जम्मा आठ करोड मात्रै राजस्व सङ्कलन गरेको थियो ।

विगतका वर्षमा कोभिड संक्रमणका कारण यातायात कार्यालयबाट हुने सेवा प्रवाह रोकिँदा राजश्व संकलन पनि कम भएको र अहिले सेवा प्रवाहमा अवरोध नआउँदा संकलन बढेको कार्यालय प्रमुख शाहको भनाई छ ।


सम्बन्धित खबरहरु