वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले सेवा चुस्त बनाउन ३२ वटै वडालाई कम्प्युटर प्रणालीमार्फत जोड्न थालेको छ ।
अबदेखि वडाबाट प्रदान गरिने विभिन्न सिफारिस एवं प्रमाणित बापत लाग्ने शुल्क, दस्तुर तथा करहरु सोझै कम्प्युटर प्रणालीमार्फत मात्रै असुल गर्न महानगरले आवश्यक तयारी अगाडी बढाएको हो ।
यसअघि रसिदबाटै शुल्क, दस्तुर तथा करहरु संकलन गरिने गरिएको थियो ।
त्यसरी संकलन गर्दा कतिपय शुल्क, दस्तुर तथा कर अनधिकृत प्रयोग हुने गरिएकाले अबदेखि भने त्यसलाई हटाउँदै सोझै कम्प्युटर प्रणालीमार्फत सेवा दिने तयारी गरिएको हो ।
महानगरले यसका लागि हरेक वडामा आवश्यक पूर्वाधार उपलब्ध गराउनुका साथै आवश्यक प्राविधिक काम अहिले गरिरहेको छ ।
तत्कालै कम्प्युटर प्रणालीबाट काम सुरु गर्नका लागि आवश्यक तयारी गर्नु पर्ने भएकाले वडाबाट प्रदान हुँदै आएको विभिन्न सिफारिस, प्रमाणित तथा कर संकलनको काम साउन १ गते देखि १० गतेसम्मलाई रोकिएको छ ।
कम्प्युटरमा सबै कर, शुल्क र दस्तुरहरुको दरहरु राख्नु पर्ने भएकाले १० दिनका लागि वडाबाट हुने यस्ता सेवाहरु स्थगित गरेर काम अघि बढाइएको वीरगञ्ज महानगरले जनाएको छ ।
कम्प्युटरमा सबै व्यवस्था भइसकेपछि नियमित र सहज रुपमा सेवा सञ्चालन हुने पनि महानगरले जनाएको छ ।
महानगरले यसै वर्षदेखि घरको नक्सा पास गर्दा लाग्ने २५ हजारसम्मको शुल्क पनि वडा बाटै तिर्न सकिने व्यवस्था मिलाएको छ ।
चुहावट नियन्त्रणका साथै तथ्यांकहरु डिजिटलाइज गर्न कम्प्युटर प्रणाली जरुरी रहेकाले महानगरका प्रमुख राजेशमान सिंहको निर्देशनमा सबै वडालाई कम्प्युटर प्रणालीमा जोड्न लागिएको महानगरका निमित्त प्रमुख प्रशासकीय प्रमुख अरविन्द लाल कर्णले बताए ।