वीरगञ्ज – पर्साकाे कालिकामाई गाउँपालिकामा बजेट बाँडफाँडकाे विषयलाई लिएर गाउँपरिषद् नै हुन सकेकाे छैन । असार १० गते परिषद् गरिसक्नु पर्नै संवैधानिक व्यवस्था भए पनि पालिका अध्यक्षले एकलाैटी गर्न खाेजेकाे भन्दै अन्य प्रतिनिधिले विराेध जनाएपछि परिषद् अनिश्चित बनेकाे हाे ।
परिषद् समयमा हुन नसक्दा नीति कार्यक्रम तथा बजेट पेश गरेर पास गर्न सकिएकाे छैन । असार अन्त्यसम्म पनि परिषद् गर्न नसकिए अर्काे महिनादेखि कर्मचारीलाई दिनुपर्ने तलब भत्तासमेत दिन नसक्ने अवस्था उत्पन्न हुन्छ ।
यसैबीच नेकपा एमाले तथा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधी तथा पार्टी प्रतिनिधले विधी र प्रकृयागत ढंगले नीति कार्यक्रमका साथै बजेट बाँडफाँड गरेर परिषद् सम्पन्न गर्न माग गरेकाे छ ।
उनीहरुले विधी प्रकृया विपरित एकलाैटी रुपमा पालिका संचालन गर्न खाेजिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन । तिन दिन भित्र पालिकाको आम्दनी तथा बजेट निर्माणको विषयमा भएको निर्णय सार्वजनिक गर्न पनि उनीहरुकाे माग छ ।
देशकै कान्छाे मेयरकाे रुपमा कहलिएका पालिका अध्यक्ष बशिष्ठ कुमार कलवारले पालिकालाई व्यवस्ठित र सबैकाे सहभागितामूलक बनाउन भूमिका खेल्नु पर्नेमा बजेट सबै आफैले राखेर वडामा जाने बजेट कटाैति गर्न खाेजेपछि विराेध गर्नु परेकाे वडा नम्बर ४ का वडाध्यक्ष संजयकुमार साहले बताए ।
वडाको बजेट कटौती गरी मनाेमानी रुपमा पालिकाकाे बजेट दुरुपयाेग गर्न खाेजेपछि त्यसलाई रोक्न नेकपा एमाले र नेपाली कांग्रेसले शुक्रबार संयुक्तरुपमा ध्यानाकर्षण पनि गराएकाे छ ।
पालिकाका अध्यक्ष कलवार अनुपस्थित रहेकोले उपाध्यक्ष राजमती देवी र प्रमुख प्रशासकीय अधिकृत अमीत गिरीलाई ध्यानाकर्षण पत्र बुझाइएको वडा नम्बर २ का वडाध्यक्षा साेनालाल चाैरसियाले जानकारी दिए ।
पालिका अध्यक्ष कलवार उनका काका दिनेश कलवारकाे याेजना अनुसार बजेट वार्डमा नपठाई आफैँले बाँड्न पाउने गरी राख्न खाेजेकाे खुलेपछि विवाद बढेकाे हाे ।
हरेक वार्डमा ३० लाख रुपैयाँकाे सिलिङ मात्रै पठाएर बाँकी अध्यक्ष आफैले राख्ने गरी काकाकाे याेजना अनुसार अध्यक्षले बजेट बाँडफाँड गर्न खाेजेका थिए ।
ध्यानाकर्षण पत्र बुझाउन नेकपा एमाले कालिकामाई गाउपालिका कमिटी अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेसका पालिका प्रत्याशी अजय पटेल, कांग्रेसका पालिका सचिव रामानन्द ठाकुर, वडा नम्बर २ का निर्वाचित अध्यक्ष सोनालाल चौरसिया, वडा नम्बर ४ का अध्यक्ष संजय कुमार साह तथा एमाले र कांग्रेसबाट निर्वाचीत १ दर्जन भन्दा बढी महिला, दलित महिला र वडा सदस्य सहभागी रहेका थिए । यस्तै दुवै पार्टीका वडा अध्यक्ष एवं पालिका स्तरिय नेताहरुको सहभागिता रहेको थियो ।
गाउपालिका अध्यक्ष कलवारको बजेट मोहका कारण आउँदो आर्थिक वर्षको लागि निति कार्यक्रम समेत सार्वजनिक गरेको छैन । उल्टै गाउपालिकामा एकलौटी रुपमा बजेटको बाडफाट गर्न विभिन्न षडयंत्र र प्रकृया मिच्ने कार्य भइरहेको छ ।
देशकै कान्छो मेयर कहलिएका बशिष्ठ कलवारलाई उनका बुवा सुरेश र काका दिनेशले चुनावमा उम्मेद्वार बनाएका हुन् । बुवा र काका दुवै जना खोटा चलन तथा लागु औषध ओसार पसार मुद्दामा दोषी ठहर भई सजाय समेत भुक्तान गरेकाले उनीहरु उम्मेद्वार बन्न नमिलेपछि छाेरालाई उम्मेद्वार बनाएका थीए ।
अहिले छाेरालाई पालिका अध्यक्षकाे रुपमा अगाडी देखाएर भित्रबाट काकाले पालिका हाक्न खाेजेकाे देखिन्छ । नारायणी सिंचाई २ नम्बर ब्लकमा जसरी नै एकलाैटी पालिका पनि कब्जा गर्न खाेजेपछि अहिले त्यसकाे बिराेध भइरहेकाे हाे ।
