वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ मा रहेकाे शारदा माद्यमिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई लागु पदार्थ तथा अवैध तस्करी सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा सहभागिहरुले शहरकेन्द्रित नभइ यस्ता कार्यक्रम गाउँगाउँसम्म पुर्याउनु पर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकाेटा, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । उनीहरुले लागु पदार्थको कुलतमा फसेर सबैबाट अपहेलित हुनुभन्दा पढाइमा ध्यान दिइ जिम्मेवार व्यक्ति बन्न जाेड दिएका थिए ।
लागुऔषधका कारण व्यक्तिगत जीवन खराब हुनुका साथै पारीवारीक र सामाजिक जीवन पनि खराब हुने हुँदा यसतर्फ बेलैमा सचेत हुनु पर्नेमा उनीहरुकाे जाेड थियाे ।
यसैबीच विद्यालय अगाडी बनेकाे नयाँ राेडमा स्पिड ब्रेकर पनि राखिएकाे छ । विद्यालय अगाडि बनेको नयाँ पक्कि रोडमा सवारी आउजाउ गर्दा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले स्थानीय श्याम कुश्वाहालाई स्पिड ब्रेकर हस्तान्तरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक दयाकान्त झाको अध्यक्षता र सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर र स्थानीय श्याम कुश्वाहाको संयुक्त आयाेजनामा भएकाे कार्यक्रममा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका कोषाध्यक्ष ज्योती रुंगटा, उपाध्यक्ष संजय शर्मा, चन्द्र अग्रवाल, रतन टेमानी, शिक्षक छोटेलाल साह, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद दहाल, प्रहरी नायब निरीक्षक हनुमान राउत अहिर, सामुदायिक केन्द्र श्रीपुर मुर्लीका दिलिप प्रधान लगायतको उपस्थित रहेको थियो । कार्यक्रमकाे सञ्चालन श्याम सरार्फले गरेका थिए ।