वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालय अगाडी रहेको सडक द्वार (बेरियर) राति १० बजे बन्द गरिने भए पनि पैसा लिएर सवारी साधन आउजाउ गर्न दिने गरेको पाइएको छ ।
बिहान ५ बजे खुल्ने यो सडकद्वार राती १० बजे बन्द गरिँदै आएको छ । तर केही समय यता भन्सार कार्यालयको सुरक्षार्थ खटिएका ससस्त्र प्रहरी र भन्सारकै कर्मचारीको मिलेमतोमा राति १० बजेपछि द्वार लगाइसकेको अवस्थामा पनि पैसा लिएर द्वार खोलेर सवारी पास गरेको भेटिएको हो ।
रातमा ड्युटी खटिएका कर्मचारीहरुले सवारी चालकहरुसँग पैसा लिएर सवारी पास गराउने गरेको भेटिएको हो ।
राति १० बजेपछि आउजाउ गर्न बिना पैसा सहज नभए पछि गएको जेठ १७ गते इन्डो–नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले वीरगञ्जका नवनिर्वाचित मेयरलाई भेटेर राति ११ बजेसम्म निजी सवारी साधन वीरगञ्जबाट रक्सौल जान पाउने व्यवस्था मिलाउन आग्रह नै गरेको थियो ।
अहिले रातमा वीरगञ्जबाट फर्किएका सवारीलाई पैसा लिएर खुलेआम जान दिने गरेको भिडियो दिशानिर्देशलाई प्राप्त भएको छ । पैदल यात्रु जतिबेला पनि प्रवेश गर्न सक्ने भए पनि सवारी साधन भने राति १० बजेपछि आउजाउ बन्द हुने गरेकाे थियाे ।
रातमा संवेदनशीलतालाई मध्यनजर गर्दै आउजाउ बन्द गरिएकाे भए पनि त्यहाँ खटेका सुरक्षाकर्मी र कर्मचारीले प्रति सवारी पैसा लिँदै आउजाउ गर्न दिइरहेका हुन् ।
भन्सार सुरक्षाका लागि अहिले सशस्त्र प्रहरीकाे एउटा टाेली नै त्यहाँ तैनाथ गरिएकाे छ । तर उनीहरु नै पैसा लिँदै सवारी पास गराउँदै गरेकाे भेटिएकाे हाे ।
