वीरगञ्ज – वीरगञ्ज महानगपालिकाले करको दायरा बढाउने नीति लिएको छ ।
कर प्रणालीलाई वैज्ञानिक र व्यवहारिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै करको दर नभई दायरा बढाउने नीति लिएको हो ।
यस्तै महानगरपालिकाले घरको नक्सा नबनाई घर बनाएकाले आगामी पौष मसान्तभित्र घरको नक्सा बनाएर ल्याए ५० प्रतिशत छुटमा नक्सा पास गरिने व्यवस्था पनि गरेको छ ।
महानगरको आगामी आर्थिक वर्षको नीति प्रस्तुत गर्दै महानगरप्रमुख सिंहले भने, ‘महानगरको १७ देखि ३२ सम्मका वडाहरुमा नक्सा पास नगरी बनेका घरघुरीहरुले आगामी आर्थिक वर्ष २०७९/०८० को पौष मसान्त सम्ममा आफनो
घरको नक्सा तयार गरी पास गर्न महानगरमा निवेदन दिएमा नक्सा पास बापत लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाईनेछ ।’
यसको प्रभावकारी कार्यान्वयनका लागि वडा अध्यक्षलाई परिचालन गरिने पनि उल्लेख छ ।
दस्तुर छुट अवधिमा घरको नक्सा पास गर्न नआउने घरधनिलाई भने कानुनी प्रक्रियामा ल्याउने पनि उल्लेख छ ।
तोकिएका करहरु वडा कार्यालयबाट तिर्ने गरी अनलाइन प्रणालीको विकास गर्नुका साथै भदाको दोस्रो सातासम्ममा यस्तो व्यवस्था लागू गरिने पनि महानगरप्रमुख सिंहले जारी गर्नुभएको नीतिमा उल्लेख छ ।
यस्तै अबदेखि महानगरको राजश्व बृद्धिको आधारमा वडामा पठाइने बजेटको सिलिङ निर्धारण गरिने पनि उल्लेख छ ।
जुन वडाले महानगरपालिकाको राजश्व बृद्धिमा बढी योगदान गर्छ त्यसैलाई प्रतिशतको आधारमा वडामा पठाईने बजेट सिलिङ्ग बृद्धि गर्ने व्यवस्था मिलाएको हो ।
