वीरगञ्ज – नगरपरिषद नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिकाले यहाँका उद्योगी व्यवसायीसँग छलफल गरेको छ ।
करको दर घटाएर दायरा बढाउने उद्देश्य अनुरुप महानगर नेतृत्वले उद्योगी व्यवसायीसँग छलफल गरेको हो ।
व्यवसायीले महानगरले अनावश्यक र अव्यवहारिक तवरले कर उठाएको भन्दै अबको नेतृत्वले त्यसलाई सुधारेर करको दर घटाउँदै दायरा फराकिलो बनाउन सुझाव दिएका थिए ।
महानगरले विभिन्न शीर्षकमा अनावश्यक कर उठाउदै आएको भन्दै उनिहरुले त्यस्ता कर हटाउन सुझाव दिए । करको दर होइन दायरा बढाउनु पर्नेमा उनिहरुको जोड थियो । सहभागिहरुले अव्यवहारिक तरिकाले कर लिन खोज्दा उद्योगी व्यपारी मात्र नभइ सर्वसाधारण समेत मारमा परेको गुनोसो गरेका थिए ।
![]()
उद्योगी व्यवसायीको गुनासो र सुझाव सुनेपछि मेयर सिंहले महानगरवासीको समस्या र चाहना अनुसार नै करको दर र दायरा निर्धारण गरिने स्पष्ट पारे ।
आउँदाे असार १० गते हुने महानगरपालिकाको नगर परिषद्मा उद्योगी व्यवासीको सुझावलाइ समेटेर कर सम्बन्धि समस्यालाई सम्बोधन गरिने आश्वासन उनले दिए ।
मेयर सिंहले सहज तरिकाले अनिवार्य कर तिर्ने वातावरणको बिकाश गर्न उद्योगी व्यवाासीसँग राय संकलन गरिएको बताए ।
![]()
‘निर्वाचनकै बखत नगरवासीको घरमा मत माग्न जानेबेला आफूले गरेको वाचा बमोजिम नै करको दर घटाउने र दायरा बढाउने उद्देश्य अनुरुप हामीले सरोकारवालासँग छलफल गरेका हौँ,’ उनले भने, ‘हामी चुनावी घोषणा पत्रमा जनाएका प्रतिबद्धताहरु क्रमैसँग पुरा गर्दै जाने छौँ ।’
आइतबारको छलफलमा वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, होटल व्यवसायी, यातायात व्यवसायी, बिद्यालय, अस्पताल, उपभोक्ताका अगुवा, बैंक तथा बित्तीय संस्थाका प्रतिनिधिहरुले आ–आफनो सुझाव दिएका थिए ।
