वीरगञ्ज – चुनावका बेला नगरवासीमाझ गरिएका प्रतिबद्धता र वाचाहरु पुरा गर्दै अघि बढ्न वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको नेपाली काँग्रेसले ध्यानाकर्षण गराएको छ ।
बिहीबार काँग्रेस महानगर कार्य समितिले महानगरपालिकाको कार्यालयमै पुगेर मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमलाइ ध्यानाकर्षण पत्र बुझाउदैै चुनावी घोषणा पत्रमा गरिएका प्रतिबद्धता र वाचा पुरा गर्दै अघि बढ्न आग्रह गरेको हो ।
काँग्रेस महानगर कार्य समितिका सभापति मणिन्द्रलाल श्रेष्ठले मेयर सिंह र उपमेयर आलमलाइ बुझाएको ध्यानाकर्षण पत्रमा महानगरको मेयर र उपमेयर दुवै पदमा सत्तागठबन्धनका साझा उम्मेदवार नै विजयी भइ वीरगञ्जको सर्वाङ्गीण विकासको जिम्मेवारी सम्हालेकाले चुनावी प्रचारका बेला गरिएका साझा प्रतिबद्धताहरु अक्षरश कार्यान्वयन गर्न आग्रह गर्दे ध्यानाकर्षण गराइएको उल्लेख छ ।
काँग्रेसको ध्यानाकर्षण पत्र बुझ्दै नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमले चुनावी प्रतिबद्धता अनुसार नै आफुहरु वीरगञ्जको विकास र वीरगञ्जवासीको सेवामा लागि सकेको बताएको काँग्रेस नगरउपसभापति सन्तोष गुप्ताले जानकारी दिए ।
