वीरगञ्ज । नारायणी अस्पतालको आईसीयू वार्डमा पटकपटक विद्युत् सर्ट सर्किटका कारण आगलागी हुने घटना दोहोरिँदै आएपछि अस्पताल प्रशासनप्रति गम्भीर प्रश्न उठेको छ।
शुक्रबार आईसीयू वार्डमा पुनः सर्ट सर्किट भएर धुवाँ फैलिएको घटनापछि उपचाररत बिरामीलाई हतारहतार सर्जिकल वार्डमा सारिएको थियो।
प्रत्यक्षदर्शीका अनुसार वार्डभित्र अचानक धुवाँ फैलिन थालेपछि बिरामीका आफन्त तथा स्वास्थ्यकर्मी त्रसित बनेका थिए।
समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो मानवीय क्षति हुन नपाएको बताइएको छ।
स्थानीयवासी तथा सेवाग्राहीहरूले अस्पताल प्रशासनको चरम लापरवाहीका कारण यस्ता घटना पटकपटक दोहोरिँदै आएको आरोप लगाएका छन्। संवेदनशील क्षेत्र मानिने आईसीयूजस्तो वार्डमा विद्युत् सुरक्षाको उचित व्यवस्थापन नहुनु गम्भीर कमजोरी भएको उनीहरूको भनाइ छ।
घटनापछि बिरामीहरूको उपचारसमेत प्रभावित भएको छ। अस्पताल प्रशासनले सघन उपचार कक्षमा अवरुद्ध रहेको विद्युत् सेवा पुनः सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।
