वीरगन्ज। जर्मनीमा रहेर सामाजिक सेवामा सक्रिय रहँदै आएका कृष्णप्रसाद गौतमले पर्साका एक विपन्न बिरामीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
गोरखामा जन्मिएर पोखरामा हुर्केका र हाल जर्मनीमा बसोबास गर्दै आएका गौतमले पर्साको बहुदरामाई नगरपालिका वडा नं. २, बैरिया गाउँका दलित तथा गरिब परिवारका पुनदेव रामको उपचारका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
हामी नेपाली जर्मनीका उपाध्यक्ष तथा चौतारी सोसाईटी जर्मनीका अध्यक्ष समेत रहेका गौतमले पठाएको उक्त रकम अस्पतालमै पुगेर बिरामी पुनदेव राम र उनकी श्रीमतीको हातमा हस्तान्तरण गरिएको छ । मोतिलाल रामका छोरा पुनदेवको आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या परिरहेको जानकारी पाएपछि गौतमले उक्त सहयोग उपलब्ध गराएका हुन् ।
पिस फर दलित फाउण्डेशन नेपाल पर्साका अध्यक्ष मनोज रामले उक्त रकम हस्तान्तरण गरेका हुन् । दलित अभियानता समेत रहेका रामले अरुलाई पनि उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन् ।
