आज:  | Wed, 18, May, 2022

मधेश प्रदेशमा ७० प्रतिशत मत खस्यो

दिशा निर्देश ३० बैशाख २०७९, शुक्रबार २३:२३ मा प्रकाशित (४ दिन अघि)

जनकपुरधाम, वैशाख ३० । मधेश प्रदेशमा करिब ७० प्रतिशत मतदान भएको छ भने ८ मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको छ ।

 

मधेश प्रदेशका जिल्लाहरुमा अनुमानित ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।

मधेश प्रदेशको सर्लाहीमा सबैभन्दा बढी ७२ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ । त्यस्तै महोत्तरी, बारा र पर्सामा ७०/७० प्रतिशत, धनुषामा ६६ र रौतहत र सिरहामा ६५र६५ प्रतिशत मतदान भएको बताइएको छ ।

मधेश प्रदेशको कयौँ मतदान स्थलमा विवाद हुँदा मतदान नै स्थगित समेत गर्नु परेको छ । बारामा ४ वटा मतदान स्थलमा विवादका कारण मतदान स्थगित गर्नु परेको मतदान अधिकृत सरोज कुमार चौधरीले जानकारी दिए ।

पचरौता नगरपालिका वडा नम्बर २ र ४ को चारवटा मतदान केन्द्रको बुथ कब्जा गरेपछि मतदान रद्द गरी स्थगित गरिएको जनाएको छ । पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले केही उच्चश्रृंखल व्यक्तिहरूले बुथ कब्जा गरेपछि वडा नम्बर २ को बरगाछी मतदान केन्द्र र श्रीनगर बैरिया प्रावि मतदान केन्द्रको मतदान रद्द भएको जानकारी दिए ।

त्यस्तै वडा नम्बर ४ को बेलदारी प्रावि मतदान केन्द्रको क र ख को मतदान पनि रद्द भएको उनले बताए ।

त्यस्तै रौतहटको ३ वटा मतदान स्थलमा मतदान स्थगित गरिएको मतदान अधिकृत छोटेलाल दासले जानकारी दिए । उनका अनुसार रौतहटको बौधीमाई नगरपालिका वडा २ स्थित इनरवारी प्रा।वि। मतदान केन्द्र, बौधीमाई कंकालिनी मतदान केन्द्र र गरुडाको शंकर प्रा।वि मतदान केन्द्रको मतदान स्थगित भएको हो ।

त्यस्तै सप्तरीको एक मतदान स्थलको मतदान स्थगित गरिएको मतदान अधिकृत रमेशकुमार जोशीले बताए । उनले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा २ को एक मतदान स्थलमा मतदान स्थगित गरिएको बताए ।

मतदान बिहानैदेखि उत्साहपूर्ण सहभागिता देखिएपछि हावाहुरीसँगै वर्षा भएपछि केही मतदान स्थलमा ढिलो गरी मतदान सम्पन्न भएको थियो । वर्षाको कारण प्रभावित भएका केही मतदान केन्द्रमा समाचार लेख्दासम्म मतदान जारी नै रहेको थियो । मतदान अधिकृत रमेशकुमार जोशीले वर्षाको कारण केही समय मतदान अवरूद्ध रहेको कारण केही समय थपेर मतदान सुचारू गरिएको बताए ।

 


सम्बन्धित खबरहरु