आज:  | Wed, 18, May, 2022

पर्सामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्

दिशा निर्देश ३० बैशाख २०७९, शुक्रबार २२:०७ मा प्रकाशित (४ दिन अघि)

वीरगन्ज । वीरगन्ज महानगरपालिका सहित पर्साका १४ वटा पालिकामा आज बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्य छिटपुट घटना बाहेक ४ सय ४ वटै मतदान केन्द्रमा सम्पन्न भएको छ ।

वीरगन्ज महानगरसहित १४ वटै पालिकाबाट प्राप्त पछिल्लो जानकारी अनुसार पर्सामा ७०  प्रतिशतसम्म मतदान भएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।

साँझ ५ बजेपछि मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताहरूलाई मताधिकारको प्रयोग गर्न दिनपर्ने प्रावधान अनुसार बढी मतदाता भएका मतदान केन्द्रहरूमा राती ८–९ बजेसम्म मतदान हुने र अधिकांश मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

कम मतदाता भएका केन्द्रहरूमा मतपेटिका सिलबन्दीको काम भइरहेको भए पनि बढी मतदाता रहेको मतदान केन्द्रमा ढिलो हुने हुँदा वीरगन्ज महानगरपालिकाकै मतपेटिकाहरू मतगणना स्थलमा राति  १२ बजेतिर आइपुग्ने देखिएपछि त्यसलाई व्यवस्थित गर्दै मतगणना कार्य भोलि बिहानबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

यसअघि पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुर मतदान केन्द्र र जगरनाथ पुर गाउँपालिकाको पिडारीगुठी मतदान केन्द्रमा हावाहुरी सहित पानी परेपछि स्थगित मतदान कार्य साँढे १ बजेदेखि नै पुन सुचारु भएको र सो स्थानमा समेत शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

त्यसैगरी छिपहरमाई गाउँपालिकामा जनता समाजवादी पार्टी तथा नेपाली काँग्रेसको कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बिच विवाद उत्पन्न भई झडप हुँदा केही बेर मतदान कार्य प्रभावित भएको थियो । मतदान स्थलभन्दा केही पर मतदाताहरूलाई रोकेको विषयलाई लिएर जसपा, काँग्रेस र एमालेबिच विवाद हुँदा झडप भएको थियो ।

झडपको क्रममा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएपछि प्रभावित मतदान कार्य निर्बाध रूपमा सञ्चालन भई आज साँझ सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

यता जनता समाजवादी पार्टी र नेपाली काँग्रेसबिच विवाद हुँदा पर्साको धोबीनी गाउँपालिकाको लंगडीस्थित मतदान केन्द्रमा केही बेर स्थगित मतदान कार्य पुनः सुचारु भई सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको हेल्थपोष्ट भवनस्थित मतदान केन्द्रमा मतदाताको साटो दलका प्रतिनिधि आफैँ गएर मतदान गरेको विषयलाई लिएर विवाद हुँदा केही बेर मतदान स्थगित भएको थियो ।

मधेश प्रदेशको १ मात्रै महानगरपालिकाको रूपमा रहेको वीरगन्ज महानगरपालिकामा १ लाख २४ हजार ६ सय ४७ जना मतदाता रहेका छन् भने ५५ मतदान स्थलमा १ सय ४३ वटा मतदान केन्द्र रहेका छन् ।

वीरगन्ज महानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष सहित १ सय ६० जना सदस्यहरू निर्वाचनमा होमिएका छन् । निर्वाचन अघि नै वीरगन्ज महानगरपालिकामा ३ जना दलित महिला सदस्यहरू भने निर्विरोध निर्वाचित भएका छन् ।

 


सम्बन्धित खबरहरु