वीरगन्ज — बैशाख ३० गते हुन गईरहेकाे स्थानीय तहको निर्वाचनमा पर्सामा सत्तारुढ दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) छुट्टा-छुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
पाँचदलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर उम्मेदवार छनोट गर्ने भने पनि पर्सामा तालमेलको अवस्था नभएपछि दुवै दलका जिल्ला अध्यक्षले शनिबार बैठक गरी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । कांग्रेस पर्सा सभापति जर्नादन सिंह क्षेत्री र जसपा अध्यक्ष रामनेरश यादवले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
‘वैशाख ३० का दिन हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पर्सामा कांग्रेस र जसपाका दुवै दलले स्थानीय नेता र कायकर्ताको मनोभावनाको कदर गर्दै छुट्टाछुट्टै जिल्लाको १४ वटै स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्न सहमत भएको’ सहमति पत्रमा भनिएको छ ।
