संघीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आवश्यकताअनुसार सुपारी आयात खोल्न अनुमति दिने भएको छ । समितिले स्वदेशी उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थका रूपमा सुपारी आयात अनुमति दिने भएको हो ।
समितिका सभापति विमल श्रीवास्तवले उद्योगलाई चाहिने कच्चा पदार्थको परिमाणमा सुपारीको आयात अनुमति दिने बताए । उनले व्यापारीलाई नभई उत्पादनमूलक उद्योगीलाई सुपारीको आयात अनुमति दिन सरकारलाई निर्देशन दिएका हुन् ।
यसअघि, समितिले अघिल्लो छलफलमा सुपारीको आयात अनुमति तत्काललाई रोक्न निर्देशन दिएको थियो । सांसदहरू देशभरका गुट्का उद्योग र सुपारी उद्योगमा भ्रमण सकेर आएपछि आयात अनुमति खोल्न समितिले लिखित निर्देशन दिने भएको हो ।
