वीरगञ्ज – एमालेले पर्साको बहुदरमाई नगरपालिकाको मेयर र उपमेयरमा आफ्नो उम्मेदवार सिफारिस गरेको छ। एमाले नगर कमिटीको बैठकले पार्टीको तर्फबाट मेयरमा नेता शिव पटेल र उपमेयरमा सुष्मा कुशवाहाको नाम सिफारिस गरेको हो।
मेयरमा पटेल र उपमेयरमा कुशवाहाको नाम शुक्रबार बसेको नगर कमिटीको बैठकले सिफारिस गरेको एमाले नगर अध्यक्ष प्रमोद कुशवाहाले जानकारी दिए।
मेयरमा सिफारिस भएका पटेल फागुनमा मात्रै एमालेमा प्रवेश गरेका थिए। लामो समयसम्म मधेसवादी दलमा आबद्ध पटेल पछिल्लो समय महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा थिए।
नगरपालिकाको मेयरमा टिकट पाउने आशामै उनी लोसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए। उपमेयरमा सिफारिस गरिएकी कुशवाहा एमाले बहुदरमाई नगर अध्यक्ष प्रमोद कुशवाहाकी बुहारी हुन्।
०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि पटेल नगरपालिकाको मेयरमै मधेसवादी दल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट चुनाव लडेका थिए।
