वीरगन्ज चैत ३०
आसन्न स्थानीय तह निर्वाचनमा पर्सामा गठबन्धन नगर्ने नेपाली कांग्रेस पर्साको बुधवार बसेको बैठकले निर्णय गरेको छ । जिल्लाका प्रमुख नेताहरुको उपस्थितीमा बसेको जिल्ला कार्यसमितिको बृहत्तर बैठकले यस्तो निर्णय गरेको जिल्ला उपसभापति रामनारायण कुर्मीले बताए ।
‘जिल्लामा रहेका वीरगन्ज महानगरपालिकासहत सबै १४ वटा पालिकामा नेपाली काँग्रेसले अन्य दलसंग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ पर्सामा स्थानीय तह निर्वाचन प्रचारप्रसार उपसमितिका संयोजक समेत रहेको नेता कुर्मीले भने, ‘नेपाली काँग्रेस पार्टीले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय भएको छ ।’
पार्टीका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएको बैठकमा पार्टीका नेताहरु नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अर्का केन्द्रीय सदस्य अजय चौरसिया, पुर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पुर्व पर्सा सभापति राजेन्द्र बहादुर अमात्य, मधेश प्रदेशका मन्त्री ओमप्रकाश शर्मा लगायत बैठकमा उपस्थित थिए ।
यसैविच बुधवार नगर कार्यसमितिका सभापति मणिन्द्रलाल श्रेष्ठ नेपाली र क्षेत्र नम्बर १ का सभापति अरबिन्द गुप्ताको अगुवाईमा स्थानीय नेताहरुले पत्रकार सम्मेलन गरेर कार्यकर्ताको मर्म बिपरित केन्द्रको घोषणा भएको यसलाई नमान्ने भन्दै विद्रोह गर्ने चेतावनी दिए ।
संघीय सरकारमा सत्तारुढ पाँच दलको चुनावी गठबन्धनमा वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएको खबर आएपछि पर्साबाट त्यसको बिरोध भएको हो । वीरगन्ज महानगरपालिका पर्ने पर्सा प्रतिनिसधसभा निर्वाचन क्षेत्र १ र २ का नेपाली काँग्रेसका क्षेत्रीय समितिले बेग्लाबेग्लै प्रस बिज्ञप्ति निकाल्दै तालमेल गरेर चुनावमा जान नहुने भन्दै असहमति सार्वजनिक गरेका थिए ।
