आज:  | Tue, 21, Apr, 2026

निर्वाचन आयोगले भन्यो : जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी स्वीकृत गर्न मिल्दैन

Avatar photo दिशा निर्देश ३० चैत्र २०७८, बुधबार १४:५८ मा प्रकाशित (४ साल अघि)

३० चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधिले राजीनामा नदिए उम्मेदवारी खारेज हुन सक्ने चेतावनी दिएको छ ।

राजीनामा दिनुपर्ने व्यवस्थालाई सर्वोच्च अदालतले अल्पकालीन आदेशबाट रोक लगाएपछि बुधबार निवेदन लिएर सर्वोच्च पुगेको निर्वाचन आयोगले जनप्रतिनिधिले राजीनामा नदिई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिए खारेज हुनसक्ने चेतावनी दिएको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ११ र १२ वैशाखमा मनोनयनपत्र दर्ताको कार्यक्रम छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ । १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिनुपर्छ । बहालवाला कुनै जनप्रतिनिधिले उम्मेदवारी दिएमा र ऊ विरुद्ध उजुरी परेमा उम्मेदवारी बदर हुनसक्ने चेतावनी दिएको छ ।

स्थानीय तह निर्वाचन नियमावली २०७४ को नियम ५ अनुसूची को खण्ड थ मा उम्मेदवार हुन योग्यता पुगेको व्यक्तिले लाभको पद धारण गरेको छैन भनी मनोनयनपत्रका साथ स्वघोषणा गर्नुपर्ने व्यवस्था भएको भन्दै स्थानीय जनप्रतिनिधिलाई लाभको पद धारण गरेको व्यक्ति होइन भन्न नमिल्ने जिकिर गरेको छ ।

निर्वाचन आयोगले निवेदनमा भनेको छ, ‘‍‍‍… स्थानीय तहको कुनै पदमा निर्वाचित वा मनोनित कुनै पदाधिकारीलाई सो पदमा वहाल रहँदासम्म लाभको पद धारण गरेको होइन भनी निजको मनोनयनपत्र स्वीकृत गर्न मिल्ने कानुनी आधारसमेत छैन ।’


सम्बन्धित खबरहरु