आज:  | Tue, 21, Apr, 2026

भ्रष्टाचारीतन्त्र ध्वस्त पार्ने अभियान राप्रपाले शुरु गर्ने :अध्यक्ष लिङ्देन

Avatar photo दिशा निर्देश २९ चैत्र २०७८, मंगलवार २३:१६ मा प्रकाशित (४ साल अघि)

वीरगञ्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रोजेन्द्र लिङ्देनले भ्रष्टाचारीतन्त्र ध्वस्त पार्ने अभियान अब राप्रपाले नै शुरु गर्ने उद्घोष गरेका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले विदेशका मानिसहरु मंगल ग्रहमा बस्ती बसाउने कुरा गरिरहेको भए पनि नेपालीहरु एउटा गाउँबाट अर्को गाउँ जाने पुल नपाएर छटपटाइराखेको बताए।

लिङ्ग्देनले सही व्यक्ति र सही नेतृत्व चुन्न सके मात्र जनताका दुःख अन्त्य बताउदैं देशको समस्या समाधान गर्नका लागि जनताले नै सही व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।

सिटामोल पाउन पनि अदालतको आदेश कुर्नुपर्ने र पैसा तिरेर पनि आवश्यक परेको बेलामा मल तथा बिउ नपाइने देशमा अरु विकासको आश गर्न नसकिने अध्यक्ष लिङ्देनको भनाइ छ । सिमित दलका सिमित व्यक्तिहरुले ३१ वर्षसम्म आफ्नो र आफ्ना आसेपासेको गोजी भर्ने बाहेकका कुनै काम गर्न नसकेको उनले आरोप लगाए ।

देशलाई पुर्ण रुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको बताउदै उनले प्रश्न गरे, ‘३ करोड जनसंख्या नपुगेका देशका ५० लाखभन्दा बढी जोशिला र सक्षम युवाहरु खाडी मुलुकमा रगत र पसिना साट्न विवश छन् । अनि परिवर्तन कसरी हुन सक्छ ?’

मधेशी शहिदको सहादतपछि मधेशले के पायो भन्दै उनले मधेशबाट प्रतिनिधित्व गर्दै संसदसम्म पुगेर प्रदेशका सत्तामा पुगेपनि मधेशी जनताले कुनै उपलब्धि नपाएको उनले जिकिर गरे । आफैले मेहनत गरेर उत्पादन गरेको उखुको पैसा समेत समयमै पाउन नसक्ने अवस्थाको अन्त्यका लागि कसैले पहलकदमी नचालेको उनको भनाई छ ।

राप्रपा पर्साका अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा आयोजित आमसभालाइ राप्रपाका निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनी, केन्द्रीय उपाध्यक्ष ध्रुब प्रधान, महामन्त्रीद्वय भुवन पाठक र राजेन्द्र गुरुङ, सहमहामन्त्री मोहन यादव केन्द्रीय सदस्य तथा नायिका रेखा थापा लगायतले पनि सम्बोधन गरेका थिए।


सम्बन्धित खबरहरु