आज:  | Wed, 22, Apr, 2026

भगवानगरमा एमाले र माओवादी त्यागेर ४० जना भन्दा बढी कांग्रेसमा प्रवेश

Avatar photo दिशा निर्देश २२ चैत्र २०७८, मंगलवार २१:५६ मा प्रकाशित (४ साल अघि)

ठोरी – ठोरी गाउँपालिकाको वडा नम्बर १ मा विभिन्न पार्टी परित्याग गरी ४० जना भन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसले अघि सारेको विकासका योजना र उसका उम्मेद्वारको सक्षमतालाई हेरेर आफूहरु एमाले र माओवादी त्यागेर कांग्रेस प्रवेश गरेको भगवाननगरका युवा सन्तु कुवँर बताउँछन् ।

एमाले र माओवादीले ठोरीको विकासका लागि कुनै काम नै गर्न नसकेको भन्दै यहाँको विकास र समृद्धिका लागि कांग्रेस नै चाहिएको बुझेर आफूहरुले कांग्रेस रोजेको समाजसेवी आशबहादुर गुरुङ बताउँछन् ।

भगवाननगरमा मंगलबार आयोजित कार्यक्रमकाबीच नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै कांग्रेसका मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले ठोरीमा विकासको मुल फुटाउने योजनाकासाथ आफूहरु अघि बढेको भन्दै सबैलाई कांग्रेसमा गोलबद्ध हुन आह्वान गरे ।

शिक्षा, स्वास्थ्य, व्यवसायीक कृषि, खानेपानी, सडक लगायतका सेवाको सहज उपलब्धताका लागि योजना बनाएरै आफूहरु जनताका माझमा आएको भन्दै उनले योजनाअनुरुप काम गर्ने ठाउँमा पुर्याउन आफ्नो अमूल्य मत दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रमकाबीच समाजसेवी आशबहादुर गुरुङ, युवा सन्तु कुवँर लगायतको नेतृत्वमा भगवाननगरका ४० जना भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई मधेस प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, वडा नम्बर १ का वडाध्यक्षका उम्मेद्वार नवराज फुयाँल लगायतले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा कमानसिंह विक, रेनिशा थापा, विमल विष्ट, रेनु मगर, सनम कुवँर, मञ्जु कुवँर, गोपीचन्द्र झिरेली, पवित्रा थापा, रेखा राना मगर, रामबहादुर मगर लगायत ४० जनाभन्दा बढी रहेका छन् ।

कांग्रेसका वडा सभापति तिलकबहादुर रिमालको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर १ का वडासदस्यका उम्मेद्वारहरु होममाया थापा, राममाया वि.क, डबलबहादुर मगर, रमेश विष्ट, कांग्रेस गाउँकमिटि सदस्य धर्मेन्द्र कलवार, रविन तिमल्सिना, भक्तबहादुर ताङनामी लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित खबरहरु