वीरगन्जमा पहिलोपटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चैत २५ र २६ गते वीरगन्जको नगर सभागृहमा पर्सा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०७८ हुने भएको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले करिब ३० लाखको लगानीमा प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक वीरेन्द्र बहादुर कुर्मी क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगिता नेपाल, भारत र बंगलादेशका गरी १७ टिमका करिब तीन सय खेलाडी सहभागी हुनेछन्।
नेपालबाट सातवटा प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरि १२ वटा टिमले सहभागिता जनाउने समितिका अध्यक्ष गणेशमान श्रेष्ठले बताए ।
भारतको सिक्किम, दार्जिलिङ, पन्जाब, दिल्ली र बंगलादेशका विभिन्न टिमले सहभागिता जनाउने भएका छन् । अगामी १४ औं साग गेम र १९ औं एसियन गेम इन्डोनेशियालाई समेत लक्षित गर्दै यही चैत २५ र २६ गते वीरगन्जमा तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक वीरेन्द्र बहादुर कुर्मी क्षेत्रीले बताए ।
पर्सा जिल्ला तेक्वान्दो संघले २०५९ सालबाट नै स्वीकृति लिएर नियमित रुपमा तेक्वान्दो प्रतियोगीता गराउँदै आएको छ। संघका पदाधिकारी र सदस्यहरुको आर्थिक सहयोगमा पहिलो पटक यति ठूलो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फ अण्डर ४१ देखि ७४ र महिलातर्फ अन्डर ४१ देखि ५७ किलो तौल समूहमा खेलहरु हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः नगद ५० हजार, २५ हजार र १५ हजार पुरस्कार दिइनेछ भने वेष्ट फाइटर एक महिला र एक पुरुषलाई २५÷२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।