वीरगञ्ज – पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा करिब २० वर्ष कैद सजाय तोकिएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका– २१ पटेलनगर निवासी ४० वर्षीय रवीन्द्र पटेललाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको गण्डकबाट पक्राउ गरेको हो ।
प्रहरीले सजाय पाएर फरार रहँदै आएका पर्साको वीरगञ्ज महानगरपालिका २१ पटेलनगर बस्ने ४० वर्षीय रवीन्द्र पटेललाई पक्राउ गरेको हो।
पटेलले २०६४ साल भदौ ९ गते पर्साको महुवन गाविस ३ हाल सखुवा प्रसौनी गाउँपालिका ५ बस्ने ४५ वर्षीय कुचन साह कानुलाई गोली हानी हत्या गरेका थिए। कानुको हत्या गरेको आरोपमा पटेललाई जिल्ला अदालतले २०७१ साल असार १७ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिन कैद सजाय सुनाएको थियो।
सोही बेलादेखि पटेल फरार रहँदै आएका थिए। प्रहरीले उनलाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
पटेल २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीको हत्यामा पनि सलंग्न रहेको उनले बताए। मैनालीको गोली हानी हत्या गरिएको थियो।
त्यसैगरी २०६६ साल जेठ १३ गते प्रो–वायोटेक प्रालिमा कार्यरत प्रशासकीय अधिकृत सोचनप्रसाद यादव माथि बम प्रहार भएको घटनामा समेत पटेलको संलग्नता खुलेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।
