आज:  | Tue, 21, Apr, 2026

भन्सार छलीको ल्याएको सामान पर्सा प्रहरीकाे नियन्त्रणमा

Avatar photo दिशा निर्देश १७ चैत्र २०७८, बिहीबार २२:५० मा प्रकाशित (४ साल अघि)

भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले बुधबार राति साढे ११ बजेतिर वीरगञ्ज महानगरपालिका–८ पर्ने घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी सार्वजनिक गरेको छ।

प्रज्ञापन पत्र विनाको हार्डवेयर तथा बिभिन्न किसिमका लत्ताकपडाहरू लोड गरी काठमाडौ तर्फ लाँदै गरेको भन्ने सूचना प्राप्त भई आवश्यक अनुसन्धानका लागि ट्रक नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

‘हामीलाई पहिलेदेखि जानकारी आएको थियो, यसै क्रममा उक्त ट्रक रोकी जाँच गर्ने गर्दा सूचना अनुरूप अवस्था फेला पर्‍यो,’ पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार , ‘भन्सार छली गरी ल्याइएका हार्डवेयर तथा लत्ताकपडाहरू फेला परेको हुँदा उक्त ट्रक नियन्त्रणमा लिएर बिहीबार आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।’

त्यसमा रहेका सामानहरुको ७० लाख रुपैयाँ बराबर र ट्रकको पचास लाख बराबर गरी एक करोड बीस लाख मूल्यांकन गरेर प्रहरीले ट्रकलाई अनुसन्धानको जिम्मा लगाएको हो। कागजातहरु अपुरो रहेको, उल्लेखितभन्दा बढी परिमाणमा सामानहरु लोड गरिएको र न्यून बिजकीकरण गरिएको पाइएको प्रहरी नायव उपरीक्षक खनालले बताए।


सम्बन्धित खबरहरु