आज:  | Tue, 21, Apr, 2026

र्सिसिया नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै वीरगञ्ज महानगरपालिका अगाडि धर्ना

Avatar photo दिशा निर्देश १४ चैत्र २०७८, सोमबार १९:२१ मा प्रकाशित (४ साल अघि)

श्रीसिया नदी एवम् वीरगन्ज प्रदुषणमुक्त अभियान पर्साले वीरगन्ज महानगरपालिका कार्यालय अगाडी धर्ना दिएको छ। बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म अभियानमा जोडिएका अभियन्ता, विभिन्न दलका नेता कार्यकर्ता, स्थानीयबासीलगायतले महानगरपालिका घेराउ गरेका थिए।

अभियानका संयोजक सुरेन्द्र प्रसाद कुर्मीको अगुवाईमा महानगरपालिकालाई दबाबस्वरुप धर्ना दिईएको अभियन्ताहरुले बताएका छन्। आजकै दिनदेखि वीरगन्जलाई प्रदूषणमुक्त बनाउन अगाडि नबढे भविष्यमा समस्या हुने बताउँदै विभिन्न कार्यक्रममार्फत दबाब दिइएको संयोजक कुर्मीले बताए। उनले उद्योगबाट निस्कने फोहोर पानी बन्द गरे सबै फोहोर बिस्तारै कम हुँदै जाने बताए।

वीरगन्जसँग जोडिएको श्रीसिया नदीसहित सम्पूर्ण नालाको फोहोर पानी प्रशोधन गरेर नदीमा फाल्ने व्यवस्था गर्न अभियानकर्मीहरुले माग गरेका छन्। नदीमा छाला र मासु उद्योगको जीवअवशेष र रसायनयुक्त पानी नदीमा फाल्ने कार्य बन्द गर्नुपर्ने उनीहरुको माग छ।

र्सिसिया नदीको प्रदूषणले वीरगञ्ज महानगरको विभिन्न वडामा रहेका दर्जनभन्दा बढी टोलका स्थानीयबासीहरु मारमा पर्दै आए पनि नदीलाई प्रदूषणमुक्त बनाउन हालसम्म कसैले पनि ध्यान दिएको छैन।


सम्बन्धित खबरहरु